ताजा समाचार


महामारी रोकथाम तथा नियन्त्रणमा सम्पूर्ण शक्ति लगाउन मुख्यमन्त्री राउतद्वारा प्रजिअहरुलाई निर्देशन

द रियल समाचार     २०७८ बैशाख १७, शुक्रबार, १९: २६ मा प्रकाशित




जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको अवस्थाबारे जानकारी लिन आज प्रदेशस्थित आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल सम्वाद गरेका छन् ।

पछिल्लो समयमा बढदै गएको कोरोना महामारीको अवस्था, रोकथाम एवं नियन्त्रणका लागि जिल्लाहरुमा भईरहेको प्रयास तथा अगामी दिनमा प्रदेश सरकारले चाल्नुपर्ने कदमहरुबारे सुझाव लिन मुख्यमन्त्री राउतले भर्चुअल सम्बाद गरेका हुन् ।

छलफलको क्रममा मुख्यमन्त्री राउतले महामारी रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण शक्ति लगाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् । कोरोना जाँचका लागि प्रदेश सरकारले आठवटै जिल्लामा पिसिआर मेशिन सञ्चालनमा ल्याईसकेको हुँदा जाँचमा समस्या नहुने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री राउतले संक्रमितको उपचारका लागि समेत प्रदेश सरकार तयारी अवस्थामा रहेको र थप तयारी समेत सुरु गरिसकेको जानकारी गराए ।

छलफलमा प्रमुख जिल्ला अधिकारीहरुले कोरोना महामारी नियन्त्रणका लागि आठवटै जिल्लामा होल्डीङ्ग सेन्टरहरुको निर्माण गर्नुपर्ने सुझाव दिएका थिए ।

भर्चुअल सम्बादमा प्रदेश सरकारको तर्फबाट प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव विरेन्द्र कुमार यादव, आर्थिक मामिला मन्त्रालयका सचिव, सामाजिक विकास मन्त्रालयका सचिव, चारवटै सुरक्षा निकायका प्रदेशस्थित प्रमुखहरु सहितको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top