बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का चारजना प्रदेशसभा सदस्य पदमुक्त भएका छन् ।
प्रदेशसभा सचिवालयले बिहीबार सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो ।
सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(१) बाट प्रत्यक्ष निर्वाचित हुन् भने सुमन र कल्पना समानुपातिक सांसद हुन् । उनीहरु चारै जना हाल लुम्बिनी प्रदेश सरकारमा मन्त्री छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरुले ६ वैशाखमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्तावमा जसपाका सन्तोषकुमार, विजयकुमार र सुमनले पनि हस्ताक्षर गरेका थिए । प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको केही घण्टामै जसपाका चार सांसदलाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएका थिए ।
सरकारमा सहभागी भएको विषयलाई लिएर जसपामा अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबीच विवाद भयो । यादव पक्षले उनीहरुलाई कारबाही गर्ने भन्दै स्पष्टीकरण सोधेको थियो । तर ठाकुर पक्षले त्यसको विरोध गर्दै आएका थिए ।
पछिल्लो पटक मंगलबार पनि यादव पक्षले कार्यकारिणी समितिको बैठक राखेर उनीहरुलाई कारबाही गर्न माग गरेको थियो । तर ठाकुर पक्ष बैठक बस्नै सहमत भएन । तर प्रदेशसभा सचिवालयले निकालेको सूचनामा भने जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (५) बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको सूचना जसपा लुम्बिनी प्रदेश संसदीय दलले दिएको उल्लेख गरिएको छ ।
यसैबीच, जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले लुम्बिनीका नवनियुक्त मन्त्रीहरुलाई सांसद र पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय फर्जी भएको बताएका छन् । नेता महतोले सांसद पदमुक्त गर्ने निर्णय फर्जी भएको भन्दै स्वीकार नगर्ने बताए । ‘यो फर्जी कसले ग¥यो ? पार्टीको त बैठक नै बसेको छैन । दुनियाँलाई थाहा छ नि’, महतोले भने ।
प्रदेशसभा सचिवालयले प्रकाशित गरेको सूचनामा भने जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा ९५० बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको सूचना जसपा लुम्बिनी प्रदेश संसदीय दलले दिएको उल्लेख गरिएको छ ।
कम्युनिष्टहरुले आफ्नो पार्टी गोलमाल बनाएपछि जसपाभित्र पनि त्यही गर्न लागेको उनले बताए । ६ वैशाखमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका चार सांसदलाई त्यसै दिन मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएका थिए ।
प्रतिक्रिया