ताजा समाचार


आईसीसी टी–२० वरीयतामा सुधार गर्दै कुशल भुर्तेल ६१ औं स्थानमा

द रियल समाचार     २०७८ बैशाख १५, बुधबार, १६: २० मा प्रकाशित




काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले आईसीसी टी–२० वरीयतामा ३२ स्थान सुधार गर्दै ६१ औं स्थानमा आइपुगेका छन् ।

आईसीसीले बुधबार अपडेट गरेको नयाँ वरीयता अनुसार ब्याट्सम्यानतर्फ भुर्तेल ६१ औं स्थानमा आइपुगेका हुन् । यसअघि उनी पहिलो पटक शीर्ष सयमा समावेश हुँदा ९३ औं स्थानमा थिए ।

नेपालमै भएको त्रिकोणात्मक टी–२० सिरिजमा डेब्यु गर्दै उत्कृष्ट ब्याटिङ गरेपछि उनी वरीयतामा समावेश भएका थिए । सिरिजको उपाधि नेपालले जित्दा सर्वाधिक २७८ रन बनाएका उनले वरीयतामा धेरै स्थान सुधार गरेका हुन् ।

भुर्तेल बंगलादेशका शकिब अल हसन, भारतका सूर्यकुमार यादव र ऋषभ पन्त, अष्ट्रेलियाका स्टिभ स्मिथ भन्दा अघि छन् । भुर्तेलले लगातार तीन खेलमा अर्धशतक प्रहार गर्दे कीर्तिमान बनाउनुका साथै एकै सिरिजको ५ खेलमा चार अर्धशतक प्रहार गरेका थिए ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल ९४ औं स्थानमा छन् । यस्तै नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरी ५६ स्थान सुधार गर्दै १०८ औं स्थानमा उक्लिएका छन् ।

त्रिकोणात्मक सिरिज नखेलेका पारस खड्का भने ८३ औं स्थानबाट ८८ औं स्थानमा झरेका छन् । बलिङतर्फ नेपाली लेग स्पीनर सन्दीप लमिछाने ७७ औं स्थानमै यथावत छन् । त्रिकोणात्मक सिरिजमा सन्दीपले सर्वाधिक १३ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top