ताजा समाचार


४ जना वडाध्यक्षहरुको निजी स्वार्थका कारण कमला नगरपालिका एक हप्तादेखि बन्द

द रियल समाचार     २०७८ बैशाख १३, सोमबार, १७: ५२ मा प्रकाशित




जनकपुरधाम । धनुषाको एक स्थानीय तहमा जनप्रतिनिधिले आफूले माग गरे अनुसारको सेवासुविधा नपाएपछि विगत एक हप्तादेखि नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

जिल्लाको कमला नगरपालिकाको प्रशासन फाँटमा सोही नगरपालिकाका चारजना वडाध्यक्षहरुले विगत एक हप्तादेखि तालाबन्दी गरेका छन् । वडाध्यक्षहरुले नगरपालिकामा ताला लगाएपछि सेवाग्राहीहरु मार्कामा परेका छन् । विकासका सबै योजनाहरु समेत अवरुद्ध भएका छन् ।

नगरपालिकाको प्रशासन फाँटमा कमला नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष राजकुमार यादव, वडा नम्बर–२ का वडाध्यक्ष धनेश कुमार यादव, वडा नम्बर–३ का वडाध्यक्ष विशेश्वर यादव र वडा नम्बर–८ का वडाध्यक्ष राजेश्वर मडिकले गत सोमबारदेखि नै ताला लगाएका छन् ।
चारैजना वडाध्यक्षहरुले आफ्नो व्यक्तिगत स्वार्थका कारण नगरपालिकामा ताला लगाएर कामकाज अवरुद्ध गरेको कमला नगरपालिकाका मेयर रामउदगार गोइतले बताए ।

उनले भने,‘वडाध्यक्षहरुले आफूहरुले माग गरे अनुसारको योजना पाउनुपर्ने माग गरेका छन् । नगरपालिकाले सबैलाई मिलाएर चल्नुपर्छ । कसैसँग काखापाखा गर्ने काम हाम्रो होईन् तर उनीहरुले हाम्रो कुरा नै मानिरहेका छैनन् ।’ तालाबन्दीका कारण सेवाग्राही मात्र नभई नगरक्षेत्रका सम्पूर्ण कामकाज समेत ठप्प हुँदा स्थानीय चिन्तित बनेका हुन् ।

यता, वडाध्यक्षहरुले भने नगरप्रमुख रामउदगार गोइत, प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र कुमार सढान तथा लेखापाल संजिव महतोले वडाको योजना कटौती गरेकोले आफूहरुले नगरपालिकामा तालाबन्दी गरेको बताएका छन् ।

सेवाग्राहीहरुले जनप्रतिनिधिहरुबिच आपसमै भागबण्डा नमिलेका कारण नगरपालिकामा तालाबन्दी गरिएको आरोप लगाएका छन् । एक जना सेवाग्राहीले प्रश्न गर्नै भने, ‘तिन वर्षदेखि ती वडाध्यक्षहरु कहाँ थिए । अहिले भागबण्डा नमिलेपछि नगरपालिकामा तालाबन्दी गर्न पाईन्छ र ?’ नगरपालिकामा तालाबन्दी गरेर वडाध्यक्षहरुले जनतालाई दुःख दिने काम मात्र गरेको उनको दुःखेसो छ । अर्का एकजनाले भने, ‘हेर्दै जानुस्, यिनीहरुको भागबण्डा नमिलेकोले ताला लगाइएको छ । मिलेपछि ताला आफै खुल्छ ।’

कोरोना महामारीको यस विषम परिस्थितीमा पनि नगरपालिकामा तालाबन्दी गरिएपछि त्यहाँका ४० हजार नगरवासी प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । उनीहरुले स्थानीय सरकारले यस्तो समयमा जनताको दुःख, पीडा र समस्या बुझ्नुपर्नेमा उल्टै आपसमै लडेर जनतालाई दुःख दिइरहेकोप्रति आक्रोश समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top