ताजा समाचार


प्रदेश २ : मास्क नलगाउने ६५ हजार जनालाई कारवाही

द रियल समाचार     २०७८ बैशाख १२, आईतवार, १८: १० मा प्रकाशित




जनकपुरधाम । नेपालमा पनि कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएपछि प्रदेश २ प्रहरीले मास्क नलगाउने व्यक्तिहरुलाई कारवाही गर्न थालेको छ ।

प्रदेशका आठवटै जिल्लाका जिल्ला प्रहरी कार्यालयहरुले मानिसहरुले मास्क लगाए/नलगाएको चेकजाँच गरिरहेको छ । मास्क नलगाउनेलाई धमाधम कारवाही समेत गर्न थालिएको छ ।

अहिलेसम्म प्रदेश २ मा मास्क नलगाउने करिब ६५ हजार व्यक्ति कारवाहीमा परिसकेका छन् । पछिल्लो ८ दिनमा मास्क नलगाउने ६४ हजार ९ सय ४४ जना कारवाहीमा परेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।

उनले वैशाख ४ देखि ११ गतेसम्ममा कारवाहीमा परेकाहरुबाट ३ लाख ५२ हजार ४ सय रुपैयाँ राजश्व समेत संकलन गरिएको बताए ।पछिल्लो ८ दिनमा मास्क नलगाउने ४४ हजार ४ सय ५१ जनालाई ३ घण्टा होल्डीङ गरेर सम्झाई बुझाई गरेर छाडिएको उनले बताए ।
त्यस्तै मास्क नलगाउने १६ हजार ९ सय ६९ जनालाई होल्डीङमा राखेर मास्क वितरण गरि छाडिएको प्रवक्ता प्रसाईले जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालयहरुसँग समन्वय गरी हालसम्म ३ हजार ५ सय २४ जनालाई संक्रामक रोग निवारण ऐन २०२० अन्तर्गत कारवाही गरि प्रतिव्यक्ति १ सयका दरले राजश्व संकलन गरिएको बताए ।

कोरोना महामारीको दोस्रो लहर प्रदेश २ मा पनि देखिन थालेपछि प्रदेश प्रहरी कार्यालयले कोरोना संक्रमण नियन्त्रणका लागि सचेतना तथा प्रचार प्रसार अभियान थालेको छ । सुरुमा प्रचार प्रसार गरिएपनि मानिसहरुले त्यसको अटेरी गरेपछि अब कारवाही गर्न थालिएको एसपी प्रसाईले बताए ।

नेपाल सरकारद्वारा तोकिएको मापदण्डलाई पुर्ण रुपमा पालना गराउन सबैलाई आ–आफ्नो तर्फबाट महत्वपुर्ण भूमिका हुने भएकोले रेष्टुरेण्ट, पार्टी प्यालेस एवं सभा सम्मेलनमा २५ जना भन्दा बढीलाई भेला नहुन प्रदेश प्रहरी कार्यालयले आग्रह गरेको छ । सरकारद्वारा तोकिएको मापदण्डलाई अटेर गरेमा संक्रमण रोग निवारण ऐन २०२० अनुसार कारवाही गर्ने जनाइएको छ ।

घरबाहिर निस्कदा मास्क नलगाई बाटोमा यात्रा गर्ने र सामाजिक दूरी कायम नगर्नेलाई प्रहरीले कारवाही गर्न थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top