जनकपुरधाम । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरूले आइतबार केन्द्रीय प्रशासन कार्यालय, लेखा शाखा र मानव संशाधन शाखामा ताला लगाएका छन् ।
कलेज व्यवस्थापनले आन्दोलनरत कर्मचारीसँग गरेको सहमति कार्यान्वयन नगरी श्रम शोषण गरेको भन्दै कलेजका कर्मचारीहरु विगत ९८ दिनदेखि रिले अनशनमा छन् । उनीहरुले पूर्वघोषित कार्यक्रम अनुसार माघ ५ गतेदेखि रिले अनशन सुरु गरेका थिए ।
कलेजमा कार्यरत १२५ कर्मचारीमध्ये १ सय जना कर्मचारी आन्दोलनमै रहेको कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक उमेश यादवले बताए । उनले रिले अनशन सुरु गरिएको दिनदेखि नै प्रत्येक दिन दुईजनाको टिम बनाएर अनशन जारी राखिएको जानकारी दिए ।
कर्मचारीहरुले विगत १५ वर्षदेखि सञ्चालनमा रहेको जानकी मेडिकल कलेज आजको मितिसम्म पनि जनअपेक्षित रुप लिन नसकेको बताउँदै कलेजमा कार्यरत कर्मचारीहरुको जिवन अन्धकारमय रहेको अवस्थामा यस संस्थाका सञ्चालक ओमप्रसाद पाण्डेयद्वारा विभिन्न मितिमा गरिएको लिखित तथा मौखिक सम्झौताहरु एकतर्फी रुपमा पटक पटक उल्लंघन गरेको आरोप लगाएका छन् ।
उनीहरूले अनशनलाई निरन्तरता दिँदै थप सशक्त आन्दोलनको तयारी थालेका छन् । कलेज प्रशासनसँग भएका सम्झौता तथा जायज माग सम्बोधन नभएको भन्दै आन्दोलित कर्मचारीले अनशनलाई निरन्तरता दिँदै थप सशक्त आन्दोलनको तयारी थालेका हुन् । यसअघि पनि उनीहरू कलेजमा कार्यरत कर्मचारी, चिकित्सक तथा फ्याकेल्टीहरू बीच तलब भत्ता, सञ्चयकोष, दसैं भत्ता लगायतका बाँकी बक्यौता भुक्तानी एवं संस्था सुदृढीकरणका लागि विभिन्न मितिमा भएका सम्झौता र प्रतिबद्धता कार्यान्वयन गर्न कात्तिक १६ गतेदेखि मंसिर १३ गतेसम्म आमरण अनशनमा बसेका थिए ।
उनीहरुले आफूहरुको ७ महिना बराबरको तलब, ६ वटा दशैं खर्च, ७ वर्षको सञ्चयकोष, अस्पतालको गुणस्तरीय सेवा सुविधा सुधार, कर्मचारी उपर गरिएको कारवाही फिर्ता र विगतमा भएका सहमतिहरुको पालना गराउन सम्बन्धित निकायसँग माग गरेका छन् ।
पछिल्लो पटक २८ दिनसम्म आमरण अनशनमा बसेका कर्मचारीद्वय जानकी शरण यादव र कुलदिप साहले ३ बुँदे सहमति पश्चात् गत मंसिर १३ गते अनशन तोडेका थिए । तर, सो त्रिपक्षीय सहमति आजको मितिसम्म पनि संस्था सञ्चालक पक्षद्वारा कार्यान्वयन नगरिएकाले बाध्य भएर आफूहरू दोस्रो पटक रिले अनशनमा बसेको उनीहरूले बताए ।
मंसिर १७ गतेभित्र कलेज र कर्मचारीबीचको समस्या समाधान गर्न दुवै पक्षबाट २ र २ जना प्रतिनिधि र धनुषा जिल्लाका स्वास्थ्यकर्मीको अधिकारिक ट्रेड युनियनका अध्यक्षहरू सम्मिलित कार्यदल गठन गरी सम्पूर्ण समस्यामाथि छलफल गरी निराकरण गर्ने सहमति भएको थियो । कलेज प्रशासनले विगतमा गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै कर्मचारीहरूले आकस्मिक बाहेकका सबै सेवाहरू गत असोज १२ गतेदेखि नै ठप्प गरेका थिए ।
प्रतिक्रिया