ताजा समाचार


पर्सा र रौतहटमा मास्क नलगाउने व्यक्तिलाई सय रुपैयाँ जरिवाना

द रियल समाचार     २०७८ बैशाख ८, बुधबार, १४: ३७ मा प्रकाशित




जनकपुरधाम । कोरोना संक्रमणको प्रभाव बढदै गएपछि प्रदेश २ को पर्सा र रौतहटमा मास्क नलगाउने व्यक्तिलाई स्थानीय प्रशासनले एकसय रुपैयाँ जरिवाना तोकेको छ ।

संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्सा र रौतहटले स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा कडाइ गर्नुका साथै मास्क नलगाउने व्यक्तिलाई एकसय रुपैयाँ जरिवाना गर्न थालेको हो । पर्सामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गईरहेको छ । पर्सा जिल्ला कोरोना संक्रमणको हटस्पट बनेको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मास्क नलगाउनेलाई एकसय रुपैंया जरिवाना गर्ने, प्रत्येक पालिकाहरुमा क्वारेन्टिन स्थापना, गौर अस्पतालमा २५, धरहरीमा १ सय र चन्द्रनिगाहपुरमा ४० बेडको आइसोलेसन सेन्टर स्थापना गर्ने निर्णय गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

उनले भने, ‘अवस्था हेरेर गौरमा थप दुईवटा आइसोलेसन निर्माण गर्ने निर्णयसमेत भएको छ । होम आइसोलेसनमा रहेका व्यक्तिहरुले मापदण्ड पालना नगरेमा त्यस्ता संक्रमितलाई सामुदायिक क्वारेन्टिनमा राखिने छ ।’ सीमा नाकाहरुमा समेत सुरक्षाकर्मीहरुले निगरानी बढाएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

गौरमा घरमै रहेका संक्रमितहरु किनमेलका लागि बजार जाने तथा घरबाहिर निस्कने गुनासो बढेपछि त्यस्ता संक्रमितहरुलाई फोनमार्फत सचेत गराइएको गौर नगरपालिकाका मेयर अजय गुप्ताले बताए । संक्रमितहरु घरबाहिर देखिए उनीहरुलाई नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टिनमा लगेर राखिने उनले बताए ।

आजदेखि मास्क नलगाएमा जरिवाना हुने प्रशासनले जानकारी दिएको छ । संक्रमितको संख्या बढे पनि स्थानीयले मास्क लगाउन तथा आवश्यक सावधानी अपनाउन वेवास्ता गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top