ताजा समाचार


कोरोनाले जनकपुरधाममा रामनवमी र चैते दशैँ प्रभावित

द रियल समाचार     २०७८ बैशाख ८, बुधबार, १२: ५५ मा प्रकाशित




जनकपुरधाम। कोरोना महामारीको त्रास फेरी फैलिएको छ । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएसंगै पछिल्लो वर्ष झैँ यस वर्ष पनि जनकपुरधामका महत्वपूर्ण पर्वहरु प्रभावित भएका छन् ।

कोरोना संक्रमणको त्रास नभएको भए जनकपुरधाममा आजको दिन लाखौँ श्रद्धालुहरुको घुइँचो लाग्ने थियो । तर कोरोनाको दोस्रो लहर फेरी शुरु भई सकेका कारण जनकपुरधामको चैतै दशैँ र रामनवमी प्रभावित भएको छ ।


हुन त जनकपुरधामस्थित प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा चैते दशैँ जारी छ । मन्दिरलाई सजाइएको छ । झिलिमीलीले झकिझकाउ बनाइएको छ । पूजा पनि प्रत्येक दिन हुन्छ तर दर्शनका लागि पुग्ने श्रद्धालु छैनन् । त्यहाँ पूजारी र पूरोहित मात्रै हुन्छन् । हाम्रो वर्षौँ देखिको परम्परा कसरी तोड्ने पूजा त गर्नै पर्यो राजदेवी मन्दिरका महन्थ राम गिरीले बताए ।

उनले यो महामारीको समयमा श्रद्धालु दर्शनका लागि नआए पनि पूजा श्रद्धा भक्तिपूर्वक गरिरहेको बताए । उनले माताले यो महामारीलाई सखाप पार्ने विश्वाससमेत व्यक्त गरे । गंगासागर पोखरीको डीलको उत्तर दक्षिण कुनामा समेत चैते दशैँको आयोजन गरिएको छ । त्यहाँ पनि दर्शनार्थी पुगेको देखिएन ।

कोरोनाकै असर होला यस पटक पनि रामनवमी पर्व जनकपुरधाममा त्यती भव्यता पूर्वक नहुने भएको छ । जनकपुरधामको प्रमुख पर्वमध्ये एक रामनवमी पर्वको तयारी अन्य वर्षमा दुई साता अगाडीदेखि नै हुन्थ्यो । तर यस पटक कोरोनाको त्रासका कारण रामनवमी मेला नै नलाग्ने भएको छ ।

कहिल्यै स्थगित नभएको यो मेला यस पटक पनि भाइरसको त्रासकै कारण स्थगित गरिएको हो । यद्यपि मन्दिरमा रामनवमीको अवसरमा विशेष पूजा बिना तामझामका साथ गरिने मन्दिरका महन्थले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top