ताजा समाचार


नेपालगञ्जमा वैशाख ९ देखि एक साता लकडाउन

द रियल समाचार     २०७८ बैशाख ७, मंगलवार, १५: ४० मा प्रकाशित




बाँके । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि बाँकेको नेपालगञ्जमा लकडाउन गर्न लागिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले उक्त निर्णय गर्न लागेको हो ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले वैशाख ९ देखि कम्तीमा एक सातालाई लकडाउन तयारी गरिएको बताए । ’लकडाउनबारे कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकमा छलफल भइरहेको छ, यसबारे आजै निर्णय हुँदैछ’, उनले भने, ’आज र भोलि उपभोग्य सामान किनमेलको समय दिएर पर्सि नौ गतेदेखि लकडाउन तयारी गरिएको छ ।’

बाँकेमा सोमबार एकैदिन हालसम्मकै सबैभन्दा बढी तीन सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज वलीका अनुसार संक्रमितमा १ सय ९८ पुरुष र १ सय २८ महिला थिए । अवस्था नियन्त्रण बाहिर जान लागेपछि स्थानीय प्रशासनले कडा निर्णय लिन लागेको हो ।

सोमबार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा २ सय १९ जना, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा ६६ र बागेश्वरी डाइग्नोसिस केन्द्रमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोमबार मात्र कोरोनाबाट दाङकी २० वर्षीया स्टाफ नर्स र बाँकेमा ७५ वर्षका पुरुषको निधन भएको थियो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ र बाहिरी जिल्लाबाट उपचार गर्न आएका ९७ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top