काठमाण्डौ । सरकारले बैबाहिक कार्यक्रमहरुमा २५ जना भन्दा बढी व्यक्ति सहभागी नहुन आग्रह गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले विवाह, ब्रतबन्ध जस्ता कार्यक्रममा २५ जना भन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको हो ।
विवाह र ब्रतबन्धमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
मेला, महोत्सव, जात्रा, पर्व र मलामीमा पनि २५ जनाभन्दा बढी सहभागी हुन नपाउने मन्त्री गुरुङले बताए ।
होटलहरु बेलुका ८ बजेसम्म मात्र खुल्ने
त्यस्तै, होटल तथा रेष्टुरेन्टहरु बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने सरकारले नियम ल्याएको छ ।
मन्त्रिपरिषद बैठकले कोरोना महामारी रोकथामका लागि आदेश जारी गर्दै होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको हो । त्यस समयपछि भने होम डेलिभरी मात्र गर्न पाइने मन्त्री गुरुङले बताए ।
मास्क नलगाएका व्यक्तिलाई कार्यालय र सवारीमा प्रवेश नदिने
सरकारले मास्क नलगाएकाहरुलाई सार्वजनिक कार्यालय र सवारीमा प्रवेश नदिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पास गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक सवारीमा मास्क अनिवार्य गरिएको छ ।
सिट क्षमता बराबर मात्र यात्रु राख्न पाइने र कुनै यात्रु मास्क नलगाइ आएमा बढीमा १० रुपैयाँ लिएर सवारी चालक÷सहचालकले मास्क उपलब्ध गराउनु पर्नेछ । मास्क नलगाउनेलाई भने सार्वजनिक सवारीमा चढ्न नदिने निर्णयमा उल्लेख छ ।
यस्तै सार्वजनिक कार्यालय, डिपार्टमेन्ट स्टोर तथा सपिङ मलहरुमा पनि मास्क अनिवार्य गरिएको छ । मास्क नलगाउनेलाई कार्यालय र पसलमा प्रवेश दिइने छैन् ।
प्रतिक्रिया