काठमाण्डौ । त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको आफ्नो दोस्रो खेलमा पनि नेपालले प्रभावशाली जित हात पारेको छ । नेपालले मलेसिया माथि ९ विकेटको जित निकालेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार दिउँसो भएको खेलमा नेपालले टस जितेर बलिङ रोजेको थियो । मलेसियाले पहिले ब्याटिङ गर्दै सबै विकेट गुमाएर १०९ रन बनाएको थियो । ११० रनको लक्ष्य पछ्याएका नेपालका ब्याट्सम्यानले जम्मा १२.१ ओभरमा १ विकेटको क्षतिमा ११३ रन बनाउँदै जित हात पारेको हो ।
नेपालको जितका लागि दुई युवा ओपनरले उत्कृष्ट प्रदर्शन गरे । दुई ओपनरले पहिलो विकेटका लागि १०२ रनको साझेदारी गरे । यो उनीहरुको लगातार दोस्रोपटक १०० रन भन्दा माथिको साझेदारी गरेका हुन् । यसअघि पनि यी दुईले नेदरल्यान्ड विरुद्ध ११६ रनको साझेदारी गरेका थिए ।
कुशल भुर्तेलले ४१ बलमा ६१ रन बनाएर नटआउट रहँदा आसिफ शेख २९ बलमा ४२ रन बनाएर आउट भए । १२ औं ओभरको पहिलो बलमा विरनदिप सिंहले अन्वर रहमानबाट क्याच भएका आसिफले ४ चौका र १ छक्का प्रहार गरेका थिए । कुशलले ४१ बलमा ३ चौका र ५ छक्काको मद्दतले ६१ बनाएका हुन् ।
तेस्रो नम्बरमा आएका उपकप्तान दीपेन्द्र ऐरीले ३ बलमा ६ रन बनाए । नेपालले अब मंगलबार नेदरल्यान्डसँगै खेल्दैछ । नेदरल्यान्डसँगै मलेसियाले बुधबार खेल्दैछ । शनिबार नेदरल्याण्डमाथि पनि नेपालले ९ विकेटको जित हात पारेको थियो । मलेसियाका सुरुवाती ब्याट्सम्यानले आक्रामक प्रदर्शन गरी नेपाली बलरलाई दवाव दिएका थिए ।
नेदरल्याण्डविरुद्ध उकृष्ट ब्याटिङ गरेको मलेसियाले नेपालविरुद्ध पनि उच्च स्कोर बनाउने संकेत देखाएको थियो । ६ ओभरको पावर प्लेमा मलेसियाले २ विकेट गुमाएर ४४ रन बनाएको थियो । सातौँ ओभरपछि नेपाली बलरले लगातार विकेट लिँदा मलेसिया सस्तैमा समेटिएको थियो ।
पहिलो विकेट करण केसीले लिएका थिए । केसीले दोस्रो ओभरको चौथो बलमा ४ बलमा ८ रन बनाएर खेलिरहेका मलेसियाका अनवार अरुद्धिनलाई विनोद भण्डारीको हातबाट क्याच गराएका थिए । मलेसियाको दोस्रो विकेट रन आउटका रुपमा गुमेको थियो । कप्तान अहमद फैज चौथो ओभरको दोस्रो बलमा रन आउट भएका हुन् । यस ओभरमा करण केसीले बलिङ गरेका थिए ।
तेस्रो विकेट सोमपाल कामीले लिएका थिए । कामीले सातौँ ओभरका अन्तिम बलमा ११ बलमा ६ रन बनाएर खेलिरहेका विरनदिप सिंहलाई बोल्ड गरेका हुन् । सन्दीपले ११औँ ओभरको तेस्रो बलमा साफिक सारिफको बोल्ड आउट गराउँनै सन्दीप लामिछानेले पाचौँ विकेट लिएका थिए ।
१२औँ ओभरको अन्तिम बलमा साहब आलमले छैटौँ विकेट लिएका हुन् । मलेसियाका अमिउदिन राम्ले आलमको बलमा अविनाश बोहोराको हातबाट क्याच आउट भएका थिए । कुशल मल्लले सातौँ विकेट लिएका थिए । मल्लले १५औँ ओभरको दोस्रो बलमा मलेसियाका खिजर हायातलाई विदोन भण्डारीबाट स्टम्पिङ गराएका थिए ।
आठौँ र नवौँ विकेट करण केसीले लिएका हुन् । १६औँ ओभरको पहिलो र दोस्रो बलमा करण केसीले लगातार विकेट लिएएका थिए । मलेसियाको अन्मित विकेट सन्दीप लामिछानेले लिएका थिए । १७औँ ओभरको पाचौँ बलमा अनवार रहमानलाई एलबीडब्लू आउट गराउँदै मलेसियालाई १०९ रनमा सीमित गराएका हुन् ।
मलेसियाका लागि साद अजिजले सर्वाधिक २७, सार्विन मुनियन्डेले २० र सफिक सरिफले १५ रनको योगदान दिँदा अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । पालका लागि करण केसीले ३,सन्दीप लामिछानले २ सोमपाल कामी,कुशल मल्ल र साहब आलमले समान १–१ विकेट लिँदा १ विकेट रन आउटका रुपमा प्राप्त भयो ।
प्रतिक्रिया