काठमाण्डौ । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक १० गते फेरि बस्ने गरी स्थगित भएको छ । सोमबार बालुवाटारमा बसेको आयोजक बैठक १० गते बस्नेगरी स्थगित भएको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश भएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए । बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक साउन २५ देखि २७ गतेसम्म राख्ने निर्णय समेत गरेको छ । सोही बैठकले विधान सम्मेलनको काम गर्ने र एमालेको विधान संशोधन मस्यौदालाई पारित गर्ने बताइएको छ ।
तत्कालीन नेकपा विभाजनको बेला केपी ओलीपक्षीय नेकपाको केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य मनोनीत भएका सबै केन्द्रीय सदस्यहरू अब नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुने भएका छन् । केन्द्रीय महाधिवेशन आयोजक कमिटीको आज बसेको बैठकले पुस ७ गते तत्कालीन नेकपा केन्द्रीय कमिटीमा मनोनित भएका ११ सयभन्दा बढी नयाँ सदस्यहरूलाई एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा रुपान्तरित गरेको हो ।
पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि पुस ७ गते प्रचण्ड–माधव पक्षले कार्की बैंक्वेटमा अलग्गै बैठक राखेको थियो । सोही दिन बालुवाटारमा बसेको ओली अध्यक्षताको बैठकले ४४१ सदस्यीय नेकपा केन्द्रीय कमिटीमा नयाँ सदस्य थप गरी ११ सय ९९ सदस्य कामय गरेको थियो ।
सर्वोच्च अदालतको फैसलाबाट एमाले ब्युँतिएसँगै ती केन्द्रीय सदस्यहरू के हुने भन्ने अन्योल थियो । अब उनीहरू केन्द्रीय कमिटी र महाधिवेशनको बीचको एमालेको संरचना राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बन्ने भएका हुन् । यो परिषदले विधान संशोधन लगायतका निर्णय गर्न पाउँछन् ।
–फरकधार
प्रतिक्रिया