ताजा समाचार


विद्यालय, पार्टी प्यालेस लगायत बढी भिडभाड हुने व्यवसाय बन्द गर्ने सरकारको निर्णय

द रियल समाचार     २०७८ बैशाख ६, सोमबार, १३: २२ मा प्रकाशित




काठमाण्डौ । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले विद्यालय, पार्टी प्यालेस लगायत बढी भिडभाड हुने व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले विद्यालय, पार्टी प्यालेस, सिनेमा हल, जिम हाउस, रंगशाला, रात्रिकालीन व्यवसाय लगायतका बढी भिडभाड हुने क्षेत्रहरु वैशाख मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै सरकारले सहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरिएको मन्त्री श्रेष्ठले बताए । सिसिएमसीको सिफारिस बमोजिम जोखिम नियन्त्रणका लागि मन्त्रिपरिषदले यस्तो निर्णय गरेको उनले बताए ।
विद्यालयमा भने वैकल्पिक माध्यमको प्रयोग गरी पठनपाठन सञ्चालन हुने मन्त्री श्रेष्ठको भनाइ छ ।

मन्त्री श्रेष्ठले भने,‘विद्यालय पूर्णरुपमा बन्द होइन । विद्यालय प्रशासन खुला रहन्छ । तर, पठनपाठन भने वैकल्पिक माध्यमको प्रयोग गरेर सञ्चालन गर्नुपर्छ । विद्यालय, जिम हाउस, पार्टी प्यालेस, रंगशाला, रात्रिकालीन व्यवसाय लगायतका बढी भिडभाड हुने ठाउँहरुमा वैशाख मसान्तसम्मका लागि बन्द गर्ने निर्णय भएको हो ।’

त्यस्तै, रंगशालाको हकमा भने, दर्शक रहित खेलसम्बन्धी गतिविधि भने सञ्चालन गर्न सकिने छ, जसले नेपालमा जारी त्रिदेशीय टि–२० क्रिकेट सिरिज दर्शकबिना सञ्चालन हुनेछ । यसैगरी जिल्लाहरुका हकमा पनि जिल्लास्थित डिसिसिएमसीको सिफारिस बमोजिम विद्यालयहरु बन्द हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top