काठमाण्डौ । सांसदबाट हटेपछि सांसद र मन्त्रीबाट पदमुक्त भएका गृहमन्त्री रामबहादुर थापा बादलले आजै पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेकपा (एमाले) का नेता ‘बादल’लाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी थिइन् । उनलाई आजै राष्ट्रपतिको कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले सपथ खुवाएका हुन् ।
नेकपा (एमाले) संसदीय दलका नेता ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जनाएका छन् ।
गृहमन्त्री थापा आजै राष्ट्रियसभा सदस्यबाट मुक्त भएका थिए । कुनै व्यक्ति सांसद पदमा नरहे पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधान छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट वि.सं. २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट चयन भएका थापालाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको थियो ।
राष्ट्रियसभामा माओवादी केन्द्रका सचेतक दीनानाथ शर्माले उनलाई सांसदबाट मुक्त गर्न गत चैत २७ गते लिखित पत्र पेश गरेबमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वीकृत गरेका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया