काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेकपा (एमाले) का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा नियुक्त गरेकी छन् ।
नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम थापालाई गृहमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट निर्वाचित भएका थापाले दल त्याग गरेको सूचना माओवादी केन्द्रका राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले राष्ट्रियसभा सचिवालयमा गराएका थिए ।
थापाले दलत्याग गरेको भनी राष्ट्रियसभाले आइतबार सूचना जारी गरेपछि उनी पदमुक्त भएका थिए । सांसदबाट पदमुक्त भएपछि थापा मन्त्री पदबाट पनि स्वतः मुक्त भएका थिए ।
अहिले उनी सांसद सदस्य नभएका व्यक्ति मन्त्री हुने अर्को संवैधानिक व्यवस्था अनुसार मन्त्री भएका हुन् र उनी सांसद नरहे पनि ६ महिनासम्म मन्त्री हुन पाउनेछन् ।
प्रतिक्रिया