ताजा समाचार


त्रिशूली नदीमा निर्माणाधीन पक्की पुल हुरीले उडायो

द रियल समाचार     २०७८ बैशाख ५, आईतवार, १५: २२ मा प्रकाशित




धादिङ । धादिङस्थित त्रिशूली नदीमा निर्माणाधीन पक्की पुल शनिबारको हुरीबतासले उडाएर भाँचिदिएको छ ।

शनिबार साँझको हुरीबतासले धादिङको गल्छी गाउँपालिका वडा नम्बर–४ मासटार र वडा नम्बर–२ केउरेनीटार जोड्ने निर्माणाधीन पक्की पुल भाँचिदिएको हो ।

स्थानीयबासीका अनुसार यो पक्की पुलको दायाँ भागमा आरसिसी ढलान भइसकेको थियो । बायाँतर्फको भागमा स्टिल हालिएको थियो । पुलको बायाँतर्फको ८० मिटर लामो स्टिल हावाले उडाएर भाँचिदिएको हो ।

रंगरोगन गरिसकेको अवस्थामा स्टिलको पुल हावाले उडाएर भाँचिदिएको हो । आधा ढलान र आधा फलामे संरचनाको उक्त पुलको मासटारतर्फको ५० मिटर फलामे संरचना नदीमा खसेको छ । जगमा कच्चा माटो राखिएका कारण हावाको भार थेग्न नसक्दा भाँचिएको हुन सक्ने अनुमान गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले गरेका छन् ।

उक्त पुल निर्माण गर्न २३ करोड ७५ लाखमा निर्माण हुँदै थियो । २०७३ असार ३० गते तुदी, लामा र सपना कन्स्ट्रक्सनले उक्त पुल निर्माणका लागि संयुक्त सम्झौता गरेका थिए । सम्झौताअनुसार यो पुल गत मंसिर १३ गते नै तयार गरिसक्नुपर्ने थियो ।

उता शनिबारकै हावाहुरीको कारण चितवनको फिस्लिङबाट गोरखा जोड्ने निर्माणाधीन पक्की पुलको फलामे संरचना पनि भासिएको छ ।उक्त पुलको ४ मिटर फलामे संरचना भासिएको हो । हावाहुरीले फलामे संरचना पुलसँग जोडिएको स्थानबाट ४ मिटर माथितिर सरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top