काठमाण्डौ । काठमाण्डौमा शनिबारदेखि सुरु हुने त्रिकोणात्मक टी–२० सिरिजको ट्रफी सार्वजनिक भएको छ । शनिबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच त्रिकोणात्मक सिरिज सुरु हुँदैछ ।
नेपालका कप्तान ज्ञानेन्द्र मल्लर नेदरल्याण्ड्सका कप्तान पिटर सिलर तथा मलेसियाका कप्तान अजिजले शुक्रबार सोल्टी होटलमा ट्रफी सार्वजनिक गरेका हुन् । सिरिजका निर्देशक माधव कर्माचार्यले कोरोना महामारीबाट जोगिन होटलदेखि मैदानसम्म सबै प्रोटोकल अपनाइएको बताए ।
क्यानका महानिर्देशक रौनक मल्लले कोरोनाको बेला पनि सिरिज गर्नु चुनौतीपूर्ण रहेपनि त्यसको लागि सबै मिलेर मिहिनेत गरेको बताए । सिरिजमा कोरोना भाइरस महामारीबाट जोगिन पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्ने बताए । उनले खेल हेर्ने टिकट डिजिटल प्रविधिबाट लिन सकिने बताए ।
उनले धेरै दर्शक सहभागी नगराउने र मास्क र सेनिटाइजर अनिवार्य गरिने पनि बताए । प्रतियोगितामा सहभागी हुने सबै तीनवटै देशका खेलाडीको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएको पनि क्यानले जनाएको छ ।
प्रतिक्रिया