ताजा समाचार


प्रदेश २ : नाम र राजधानीका लागि प्रस्ताव दर्ता गराउन प्रदेश सभा सचिवालयद्वारा आह्वान

द रियल समाचार     २०७८ बैशाख ३, शुक्रबार, १६: ०० मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेशको नाम र राजधानी तोक्न नसकेको भन्दै कडा आलोचना भईरहेको समयमा प्रदेश सभाले प्रदेशको नाम र राजधानीका लागि प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ ।

प्रदेश सभा सचिवालयका सचिव रञ्जित कुमार यादवले एक सूचना जारी गर्दै प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गराउनका लागि आह्वान गरेका हुन् ।

सचिव यादवले जारी गरेको सूचनामा बैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने सम्बन्धी प्रस्ताव दर्ता गराउन भनिएको हो । नामाकरण र राजधानीसम्बन्धी प्रस्ताव दर्ता गर्न चाहने प्रदेश सांसदले प्रस्ताव दर्ता गराउन सक्ने सचिवालयले जनाएको छ ।

विज्ञप्तीमा प्रदेशको नामाकरणको सवालमा नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेशको नामाकरण प्रदेश सभाको दुई तिहाई बहुमतबाट हुने भएकोले प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७३ ख. को उपनियम (२) बमोजिम प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गर्न चाहने प्रदेश सभा सदस्यले सोही नियमावलीको अनुसूची ३ (ख) बमोजिम बैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा दर्ता गराउन सूचना प्रकाशन गरिएको उल्लेख छ ।

त्यस्तै, राजधानीको सवालमा नेपालको संविधानको धारा २८८ को उपधारा (२) बमोजिम प्रदेशको राजधानी प्रदेश सभामा तत्काल कायम रहेको दुई तिहाई बहुमतबाट हुने भएकोले प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७३ क. को उपनियम (२) बमोजिम प्रदेशको राजधानी तोक्ने प्रस्ताव दर्ता गर्न चाहने प्रदेश सभा सदस्यले सोही नियमावलीको अनुसूची ३ (क) बमोजिम बैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा दर्ता गराउन सूचना प्रकाशन गरिएको उल्लेख छ ।

यसअघि वि.सं. २०७६ साल चैत ४ गते प्रदेशको नाम र स्थायी राजधानीका लागि सचिवालयले गरेको प्रयास असफल भएको थियो । प्रदेश सभामा नामसम्बन्धी चारवटा प्रस्ताव र स्थायी राजधानीसम्बन्धी ३ वटा प्रस्तावमाथि मतदान भएको थियो । तर नाम र राजधानीका लागि दर्ता गराइएका प्रस्तावहरु मध्ये कुनैपनि प्रस्तावको पक्षमा दुइ तिहाइ मत आउन सकेको थिएन ।

यसअघिको नाम र राजधानीका लागि तत्कालिन समाजवादी पार्टी र राजपाले प्रदेशको नाम मधेस प्रस्ताव गरेको थियो । नेपाली कांग्रेसले मिथिला भोजपूरा प्रस्ताव दर्ता गराएको थियो भने कांग्रेसकै प्रदेशसभा सदस्य राजेश्वर साहले मध्य मधेस नाम प्रस्ताव दर्ता गराएका थिए । तत्कालिन नेकपाले प्रदेशको नामाकरण जानकी प्रस्ताव गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top