ताजा समाचार


प्रदेश २ सरकारले मधेशी सहीद प्रतिष्ठान गठन गर्ने

द रियल समाचार     २०७८ बैशाख २, बिहीबार, १९: ३३ मा प्रकाशित




जनकपुरधाम । प्रदेश नम्बर २ सरकारले मधेशी सहीद प्रतिष्ठान गठन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका सहीद परिवार, घाइते तथा अपाङ्ग भएकाहरुका लागि सामाजिक सुरक्षाको प्रवन्ध तथा व्यवस्थापन गर्न प्रतिष्ठान गठन गर्ने निर्णय गरेको हो ।

२०६३ सालदेखि मधेशको अधिकार प्राप्तीका लागि भएको आन्दोलनको क्रममा शहादत प्राप्त गरेका सहीदहरुको परिवार, घाइते भई अपाङ्ग भएकाहरुको सामाजिक सुरक्षाको व्यवस्थापन गर्न प्रतिष्ठान गठन गर्न लागिएको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री अध्यक्ष रहने निर्देशक समितिले प्रतिष्ठान सञ्चालन गर्ने भएका छन् । समितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालयका सचिव तथा मधेशी सुहीद परिवारहरु मध्ये एक जना महिलासहित दुई जना सदस्य र कार्यकारी निर्देशक सदस्य सचिव रहने मन्त्री यादवले बताए । सहीद परिवारबाट दुई जना सदस्यको मनोनित निर्देशक समितिका अध्यक्षले गर्नेछन् ।

प्रतिष्ठानले सहीद परिवार, घाइते भई अपाङ्ग भएकाहरुको लागि स्वास्थ्य, शिक्षा, रोजगारी, जीवन निर्वाह भत्ता, आर्थिक उन्नती आदी सम्बन्धी कार्ययोजना तयार गरी कार्यान्वयन गराउने, सहीद पार्क निर्माणको लागि स्थानको छनौट लगायत पीडितहरुलाई लक्षित गरि रोजगारमूलक तथा सिपमुलक कार्यक्रमहरु सञ्चालन गर्ने मन्त्री यादवले जानकारी दिए ।

रामनवमी, कृष्णाजन्माष्टमी, छठ पर्व (पारनको दिन), विवाहपञ्चमी, मोहम्मद डे, इद, बकरइद, बलिदानी दिवस (मधेश सहीदहरुको स्मृती दिवस), जुडशित्तल, होली (होलीको भोलीपल्ट), जानकी नवमीमा प्रदेश सरकारले थप विदा दिने निर्णय समेत गरेको छ ।

त्यस्तै बैठकले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमडीको पठनपाठन प्रारम्भ गर्नको लागि ९ करोड ३२ लाख १० हजार अनुदान दिने निर्णय गरिएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top