ताजा समाचार


प्रदेश २ : मंगलबार कोरोना संक्रमणबाट ३ जनाको मृत्यु, ५६ नयाँ संक्रमित थपिए

द रियल समाचार     २०७७ चैत्र ३१, मंगलवार, २१: ४१ मा प्रकाशित




–राजा झा, जनकपुरधाम । प्रदेश २ मा करिब साढे ३ महिनापछि कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै यस प्रदेशमा मृत्यु हुनेको संख्या २ सय १२ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद मण्डलले जानकारी दिए ।

गत पुष १२ गते पश्चात यस प्रदेशमा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको थिएन् । मंगलबार बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ९ छाता पिपराका ३७ वर्षीय पुरुष र वीरगञ्ज महानगरपालिका वडा नं. ३ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा नारायणी अस्पताल वीरगञ्जमा मृत्यु भएको हो ।

त्यस्तै पर्साको कालिकामाई गाउँपालिका वडा नं. २ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा आइतवार भरतपुर अस्पताल चितवनमा मृत्यु भएपनि आज जानकारी प्राप्त भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल सप्तरी र नारायणी अस्पताल वीरगञ्जमा गरिएको परिक्षणमा पर्सामा ३८, सिरहामा ७, धनुषामा ४, बारामा ४, सप्तरीमा २ र महोत्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ३ पुगेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या १ सय ९३ रहेको छ । हाल पर्सामा १ सय १४, बारामा ३९, धनुषामा १९, सिरहामा ८, महोत्तरीमा ७, सप्तरीमा ३, सर्लाहीमा २ र रौतहटमा १ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top