ताजा समाचार


कल्याणपुरका जनप्रतिनिधिहरु आन्दोलित, वडाध्यक्षले लगाए नगरपालिकामा ताला

द रियल समाचार     २०७७ चैत्र ३१, मंगलवार, १६: ४३ मा प्रकाशित




–विनय यादव, सिरहा । सिरहाको कल्याणपुर नगरपालिकामा जनप्रतिनिधि नै आन्दोलित बनेका छन् । विभिन्न माग राखी नगरपालिकाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरू आन्दोलनमा उत्रिएका हुन् ।

नगरपालिकाका १२ जना वडाध्यक्षमध्ये ८ जना वडाध्यक्ष र ७ जना कार्यपालिका सदस्यले नगरपालिकामा तालाबन्दी गरेका छन् । विभिन्न ११ बुँदे माग राखी सोमबार उनीहरूले नगरपालिकामा ताला लगाएका छन् ।

नगरपालिकामा जनहितका विषय प्राथमिकतामा नै नदेखिएको र नगरप्रमुख तथा प्रशासकीय अधिकृतको मिलेमतोमा व्यापक अनियमितता हुँदै आएको उनीहरूको आरोप छ । मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा कार्यपालिकालाई जानकारी नदिई कमिसन र घुस लिई सेटिङमा विभिन्न कार्यहरु हुँदै आएको वडा नम्बर ३ का वडाध्यक्ष अशोक मण्डलले बताए ।

नगरपालिकामा भएको अनियमितताको छानबिन, आयव्यय पारदर्शी, कार्यपालिका बैठक नै नबसी मनपरि तरिकाले भएको नियुक्ति खारेज, पोखरी ठेक्का प्रक्रियालाई पारदर्शी गर्नुपर्ने, अधिकृतले आफूखुसी बाँडेको योजनाहरू बदर गरी कार्यपालिकाको निर्णय अनुसार गर्नुपर्ने, सबै जनप्रतिनिधिहरूको जानकारी विना हुने गरेको नगरस्तरीय योजनाको उपभोक्ता समिति गठन कार्य रोक्नुपर्ने लगायतका माग उनीहरूको छ ।
नगरपालिकाले ९ महिनादेखि समाजिक सुरक्षा भत्तासमेत वितरण नगरेको र यसबारे नगरपालिकालाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेको कल्याणपुर ११ का वडाध्यक्ष राजेश्वर यादवले बताए । उनले नगरपालिकाका बेथितिहरु समाधानका लागि आफूहरू पटकपटक प्रयास गरेपनि वास्ता नभएको र अन्त्यमा तालाबन्दी गर्नुपरेको सुनाए ।

‘हामीले पटकपटक ध्यानाकर्षण गरायौं, तर वास्ता भएन,’ उनले भने, ‘अब निकास नआएसम्म ताला खुल्दैन ।’ यस सम्बन्धमा कुरा गर्न नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जयप्रकाश दासलाई पटकपटक फोन गर्दा फोन उठेन ।

कार्यवाहक मेयर यादव भन्छिन् : जानकारी नै नदिई तालाबन्दी गरियो

नगरपालिकाकी कार्यवाहक मेयर रोहिनी यादवले भने आफूलाई कुनै जानकारी नै नदिई तालाबन्दी गरिएको दावी गरिन् । ‘तालाबन्दी गर्नुभन्दा पहिला जानकारी गराउनुपर्थ्यो, संवाद र सहकार्य गरेर समस्या समाधान गर्नुपर्थ्यो,’ उनले भनिन्, ‘तर, कुनै संवाद नै नगरी ताला लगाइयो ।’

कल्याणपुर नगरपालिकामा मेयरमा निर्वाचित सूर्यनाथ मण्डल घुस प्रकरणमा मुछिएपछि निलम्बित भएका छन् । त्यसयता नगरपालिकाकी उपमेयर यादव कार्यवाहक मेयरको रुपमा कार्यभार सम्हाल्दै आएकी छन् ।

नगरपालिकामा १२ वटा वडामध्ये ६ वटा वडामा तत्कालीन राजपाका, ३ वटामा तत्कालीन एमालेका, २ वटामा कांग्रेसका र एउटामा स्वतन्त्र वडाध्यक्ष छन् । मेयर र उपमेयर कांग्रेसको भएपनि कार्यपालिकामा उसको बहुमत छैन । जसकारण यहाँ पटकपटक विवाद चल्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top