ताजा समाचार


वीरगञ्जमा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु

द रियल समाचार     २०७७ चैत्र ३१, मंगलवार, १४: ०५ मा प्रकाशित




पर्सा । पर्सामा कोरोना संक्रमणबाट दुईजना पुरुषको मृत्यु भएको छ ।

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा दुबैजनाको मंगलबार बिहान मृत्यु भएको हो ।

मृत्यु हनुेमा वीरगञ्ज महानगरपालिका-३ प्रगतिनगरका ६२ वर्षीय पुरुष र बाराको जीतपुर सिमरा उपमहानगरपालिका-९ का ३७ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनअघि अस्पताल भर्ना भएका ६२ वर्षीय पुरुषको मंगलबार बिहान ८ बजेर २० मिनेटमा मृत्यु भएको हो । एक महिनाअघि नयाँ दिल्लीमा छोरालाई भेट्न गएका उनी केही दिनअघि मात्रै नेपाल फर्किएका थिए ।

श्वासप्रश्वासमा समस्यामा देखिनुका साथै खोकी र ज्वरो लागेपछि उनी अस्पताल भर्ना भएका थिए ।

त्यस्तै बाराका संक्रमितको पनि आज बिहान साढे ३ बजे नारायणी अस्पतालमै मृत्यु भएको अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए ।

‘खोकी, ज्वरो र मुखबाट रगत आएपछि निजी अस्पतालमा उपचार गराएका रहेछन्, दुवै फोक्सोमा कोभिड निमोनिया थियो,’ डाक्टर सिंहले भने, ‘हाई फ्लो अक्सिजन दिँदासमेत ४० प्रतिशतभन्दा बढेन, ज्वरो पनि घटिरहेको थिएन, जति कोशिस गर्दा पनि बचाउन सकिएन ।’

भारतको हैदरावादबाट होली पर्व मनाउन चैत १४ गते उनी घर फर्किएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि चैत २६ गते उनलाई वीरगञ्जको एडभान्स अस्पतालमा भर्ना गरिएको थियो ।

पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि चैत ३० गते राति पौने १ बजे उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

एडभान्समा उपचारका क्रममा हेमो ग्लोविन ४.७ मात्रै भएकोले ३ पिन्ट रगत चढाएको डाक्टर उदय नारायण सिंहले बताए ।

दुई दिन कोरोना परीक्षण गराउन नमानेका उनलाई चिकित्सकले सम्झाइबुझाइ स्वाब संकलन गरेर नारायणीमा परीक्षणका लागि पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top