एजेन्सी । म्यानमारमा सैन्य सत्ता विरुद्धको आन्दोलनको क्रममा अहिलेसम्म ७ सय १ जनाको मृत्यु भइसकेको छ ।
आन्दोलनमा सहभागी अन्य ३ हजार १ सयभन्दा बढी नागरिकलाई सुरक्षाकर्मीले पक्राउ गरी थुनामा राखेका छन्।
गत फेब्रअरी १ तारिखका दिन म्यानमारको सेनाले सत्ता हातमा लिएको घोषणा गर्दै नेताहरुलाई पक्राउ गर्न सुरु गरेको थियो। सेनाले सत्ता हातमा लिएदेखि नै म्यानमारमा निरन्तर विरोध प्रदर्शन भइरहेको छ ।
अनुगमनकर्ताहरुले सार्वजनिक गरेको विवरणअनुसार अरु सयौँ व्यक्ति आन्दोलनका क्रममा घाइते भएका छन् भने कतिपयको अवस्था अझै अज्ञात छ।
गत शुक्रबार एकै दिनमा सुरक्षाकर्मीहरुको आक्रमणमा परी देशको बागो क्षेत्रमा कम्तीमा ८२ जनाको मृत्यु भएको छ। केही हप्ता अगाडि म्यानमारमा प्रदर्शनकै क्रममा एकैदिनमा सयभन्दा बढी व्यक्तिको सेनाले हत्या गरेका थिए।
गत वर्ष सन् २०२० को नोभेम्बर ८ का दिन भएको निर्वाचन र त्यसको नतिजाप्रति असन्तुष्टि जनाउँदै सेनाले म्यानमारको सत्ता नियन्त्रणमा लिएको हो ।
सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ। उक्त चुनावमा आङ सान सुकी र उनको ‘नेशनल लिग फर डिमोक्यासी’ दल निर्वाचित भएको थियो ।
चुनावमा धाँदली भएको सेनाको दाबीलाई निर्वाचन आयोगले खारेज गरिदिएको थियो। सेनाले निर्वाचन निश्पक्ष नभएको दाबी गर्दै फेरि निर्वाचन गराउन भन्दै सत्ता नियन्त्रणमा लिनुपरेको जनाएको छ ।
सेनाले निर्वाचन गराउने भन्दै एक बर्षका लागि संकटकालसमेत घोषणा गरेको छ । तत्कालीन नयाँ संसद्को पहिलो बैठक बस्न लागेकै दिन सेनाले सत्ता नियन्त्रणमा लिएपछि अहिले म्यानमारको राजनीति थप संकटतर्फ धकेलिएको छ।
सेनाले नियन्त्रणमा रहेकी नेतृ आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी अभियोग लगाइएको उनका वकीलले जानकारी दिएका छन्। उनीमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ।
प्रतिक्रिया