ताजा समाचार


केही वडाध्यक्षद्वारा जनकपुरधाम उपमहानगरपालिकाको छैठौं नगरसभा बहिष्कार

द रियल समाचार     २०७७ चैत्र ३०, सोमबार, १५: ५२ मा प्रकाशित




जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका केही वडाध्यक्ष तथा वडा सदस्यहरुले सोमबार छैठौं नगरसभा बहिष्कार गरेका छन् ।

नगरप्रमुख लालकिशोर साहले निर्णयमा अगााडी नै हस्ताक्षर गराउन खोजेको र बोल्न पनि नदिएपछि आफूहरुले नगरसभा बहिष्कार गरेको वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले जानकारी दिए । उनले नगरप्रमुख साहले हैकमबादी प्रवृतिले नगरसभा सञ्चालन गरेको आरोप लगाए ।

वडाध्यक्ष साहले भने, ‘सभाहलमा प्रवेश गर्नुअघि नै निर्णयमा हस्ताक्षर गर्न दवाव दिएको र जानकारी लिन खोज्दा हैकमबादी प्रवृति देखाएकोले हामीहरुले नगरसभा बहिष्कार गरेका छौं ।’ नगरप्रमुख साहले बैठक नै नबसाई छैठौं नगरसभा सम्पन्न गरेको उनले आरोप लगाए ।

वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साहले नगरसभामा दफाबार छलफल गरी बिषयवस्तु पारित गर्ने प्रावधान रहेपनि ति सबै ऐन नियमलाई मिच्दै नगरप्रमुख लालकिशोर साहले एकलौटी गर्न खोज्दा आफूहरुलाई सह्य नभएको बताए । उनले भने,‘उपस्थिती र निर्णयमा अगाडी नै हस्ताक्षर गरेपछि छलफलमा जे भएपनि निर्णय त सबैलाई मान्नु नै पर्छ । कसैले आफ्नो फरक मत राखेपनि त्यसले कुनै असर नै पर्दैन । त्यसैले आफूहरुले हस्ताक्षर गरेनौं ।’

उनले यो मेयर लालकिशोरको सन्की प्रवृति रहेको आरोप लगाउँदै यस्ता राजनीति गर्ने व्यक्तिलाई जनकपुरधामबासीले शरण दिएको जिकिर गरे । यस्तो प्रवृतिको नगरबासीले समयमै विरोध नगरे मेयर साहले भोलीको दिनमा नगरपालिकाको लालपूर्जा समेत आफ्नै नाममा बनाउन पछाडी नपर्ने आरोप लगाए ।

वडा नम्बर–१ की वडा सदस्य गंगावत्ती महराले सभाहलमा प्रवेश गर्नुअघि नै आफूलाई निर्णयमा हस्ताक्षर गर्न दवाव दिइएको र आफूले हस्ताक्षर नगर्दा भित्र प्रवेश गर्न नदिएको आरोप लगाईन् । उनले निर्णय बारे विस्तृत बुझ्ने आफ्नो पनि अधिकार रहेकोले जानकारी नदिँदा आफूले हस्ताक्षर नगरेको बताईन् ।

त्यस्तै वडा नम्बर–१ की वडा सदस्य शारदा पन्तले नगरसभामा कुनै सिस्टम नै नरहेको आरोप लगाईन् । उनले उपस्थिती र निर्णय दुबैमा एकैपटक हस्ताक्षर गर्न भनेपछि आफूले पनि हस्ताक्षर नगरि सभा बहिष्कार गरेको बताईन् ।

नगरसभामा कार्यपालिकाका सबै सदस्यले आफ्नो विचार राख्न पाउने अधिकार रहेपनि नगरप्रमुख साहले कसैलाई केही बोल्न नदिएको र नगरसभामा हैकमबादी प्रवृति देखाएको आरोप लगाईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top