ताजा समाचार


चितवनमा ट्याक्टर दुर्घटनामा परी ६ जनाको मृत्यु, १९ जना घाइते

द रियल समाचार     २०७७ चैत्र ३०, सोमबार, ११: ५८ मा प्रकाशित




चितवन । चितवनमा ट्याक्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार मृत्यु हुनेहरुमा राप्ती नगरपालिका वडा नम्बर-५ का ३५ वर्षीय खड्क लामा, सोही नगरपालिका वडा नम्बर-४ का ४५ वर्षीय सीताराम श्रेष्ठ, ४५ वर्षीय सूर्यबहादुर श्रेष्ठ, चितवनकै खैरहनी नगरपालिका-९ का ४० वर्षीय गगन महतो, सोही नगरपालिका वडा नम्बर-९ बैरहनीकी ५० वर्षीय छनिया महतो र नामथर वतन नखुलेका अन्दाजी २४/२५ वर्षका पुरुष रहेका छन् ।

दुर्घटनामा परी अन्य १९ जना घाइते भएको र उनीहरुमध्ये ७ जनाको अवस्था गम्भीर रहेको डीएसपी थापाले जानकारी दिए।

थापाका अनुसार रौतहटको दिपहीका १९ वर्षीय अरुण राम, दिबहीकै २७ वर्षीय विजय राम, बाराको कचौराहा गाउँपालिका-८ का २७ वर्षीय रामआधार राम, चितवनको राप्ती नगरपालिका-४ बस्ने ३० वर्षीय नीरबहादुर श्रेष्ठ, मकवानपुरको राक्सिराङ गाउँपालिका-७ का २४ वर्षीय रमन चेपाङ, बाराको कोल्हबी नगरपालिका-५ का ३२ वर्षीय प्रभुकुमार राम र नामथर र वतन खुल्न नसकेका २४/२५ वर्षका व्यक्तिको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रहरीका अनुसार राप्ती नगरपालिका-११ स्थित चिउरी खोलामा आइतबार बेलुका ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।

राप्ती नगरपालिकाको ११ नम्बर वडा कार्यालय भवन ढलान गरेर ट्याक्टरमा भण्डारा फर्किंदै गरेका मजदुरहरू दुर्घटनामा परेका थिए ।

ट्याक्टर सडकबाट करिव २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्याक्टरमा २५ जना सवार थिए ।

घाइतेहरुको सरकारी अस्पताल, पुरानो सीएमएस र सीएमसीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top