ताजा समाचार


अफगानिस्तानमा भएका हिंसात्मक घटनाहरूमा परी ९२ जनाको मृत्यु

द रियल समाचार     २०७७ चैत्र २८, शनिबार, १७: २३ मा प्रकाशित




एजेन्सी । अफगानिस्तानमा भएका हिंसात्मक घटनाहरूमा परी ९२ जनाको मृत्यु भएको छ । स्थानीय स्वतन्त्र अनुगमनकर्ताहरूले शनिवार दिएको जानकारी अनुसार शुक्रवार बिहान भएका घटनाहरूमा परी उनीहरूको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा भएका घटनाहरूमा परी ९२ जनाको मृत्यु भएको विवरण हामीलाई प्राप्त भएको छ, एक सुरक्षा अधिकारीले बताए । घटनामा परी मृत्यु भएका मध्ये २ जना आम नागरिक, २७ जना अफगानिस्तान राष्ट्रिय सुरक्षा दलका सुरक्षाकर्मी र ६३ जना तालीवान् लडाकुहरू रहेको पनि साक्षर अधिकारीहरूले पुष्टि गरेका छन् ।

घटनामा परेका मध्ये ५१ जना तालीवान् लडाकुहरू र ७ जना सुरक्षाकर्मीहरू घाइते पनि भएको जनाइएको छ । अफगानिस्तानमा गत करिब चार दशकदेखि द्वन्द्व जारी छ । अमेरिकाले यहाँको सुरक्षा व्यवस्थाको अगुवाइ गरिरहेको छ । अफगान सरकारले पनि अमेरिकी नेतृत्वको सुरक्षा व्यवस्थामा तालिबानसँगको तनाव कम गर्ने प्रयत्न गरिरहेको छ । सन् २००१ मा अमेरिकाले अफगानिस्तानको तालिबान सत्तालाई हटाइदिएको थियो ।

अफगानिस्तानमा करिब १४ हजार अमेरिकी सेना रहेकोमा अहिले घटाउँदै करिब २५ सयमा झारिएको छ । थप घटाउने की बढाउने भन्ने बारेमा जो बाइडेन नेतृत्वको नयाँ अमेरिकी प्रशासनले अहिले समीक्षा गरिरहेको छ । अफगानिस्तानमा अमेरिकी बाहेक ब्रिटेन, जर्मनी, इटली जस्ता मुलुकबाट समेत हजारौँको सङ्ख्यामा सुरक्षा फौज तैनाथ गरिएको छ ।

उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका सदस्य राष्ट्रहरूले अफगान फौजलाई सल्लाह र सहायता दिँदै आएका छन् । पछिल्ला वर्षहरूमा सुरक्षाका गम्भीर घटनाहरूमा पनि नेटो सेनाले अफगान सुरक्षाकर्मीलाई नै अघि सार्दै आएको छ ।
–सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top