ताजा समाचार


गोरखामा जिप दुर्घटना, २ जनाको मृत्यु, ७ जना घाइते

द रियल समाचार     २०७७ चैत्र २२, आईतवार, ११: ३८ मा प्रकाशित




गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–२ राङरुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

दुर्घटनामा लम्जुङ्गको दुधपोखरी गाउँपालिका बिचौरका ५५ वर्षीय रामेश्वर न्यौपाने र ४५ वर्षीय ठाकुर दवाडीको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका लागि गोरखा अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका हुन् ।

घाइतेहरुमा लम्जुङ बेसीशहरका २० वर्षीय सन्तोष तामाङ, दूधपोखरी गाउँपालिकाका ३० वर्षीय विष्णु दवाडी, २८ वर्षीय अनिल मरहट्टा, १८ वर्षीय अमृत दवाडी, २६ वर्षीय विष्णु न्यौपाने, २९ वर्षीय अमृत दवाडी र तनहुँ व्यास नगरपालिकाका ३६ वर्षीय सुशील नराल घाइते भएका छन् ।

उनीहरुमध्ये विष्णु न्यौपाने र अनिल मरहट्टालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ । बाँकीको गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बारपाकबाट बालुवा आउँदै गरेको ना ५ च ३२९८ नम्बरको बोलेरो जिप शनिबार साँझ करिब ७ बजे सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रहरी र स्थानीय मिलेर घाइतेको उद्धार गरेका थिए । लम्जुङबाट बारपाक घुम्न आएका उनीहरु फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top