ताजा समाचार


कोरोनाविरुद्धको खोप लगाएका ज्येष्ठ नागरिकमध्ये १० जनाको मृत्यु, सरकारद्वारा अनुसन्धान सुरू

द रियल समाचार     २०७७ चैत्र २२, आईतवार, १०: ५९ मा प्रकाशित




जनकपुरधाम । कोरोनाविरुद्धको खोप लगाएका ज्येष्ठ नागरिकमध्ये १० जनाको मृत्यु भएपछि मृत्युको कारण पत्ता लगाउन सरकारले अनुसन्धान सुरू गरेको छ ।

म्यादी, कालिकोट, रौतहट, धनुषा, काठमाडौंलगायतका जिल्लाका १० जना ज्येष्ठ नागरिकको खोप लगाएको केही दिनमा मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयमा आएपछि सरकारले अनुसन्धान सुरू गरेको हो ।

खोपपश्चात् हुने अवाञ्छित घटनाको कमिटीका अनुसन्धान प्रमुख डा.धनराज अर्यालका अनुसार मृत्यु खोपकै कारणले भएको हो वा अन्य कुनै कारणले भएको हो भन्नेबारे पत्ता लगाउन अनुसन्धान सुरू गरिएको हो ।

डा. अर्यालका अनुसार मृत्यु हुनेमा दीर्घरोगी, दम, मुटु तथा रोगसँग लड्ने क्षमता कमजोर भएका ज्येष्ठ नागरिकहरू रहेका छन् । उनीहरूका आफन्तले पनि मृत्युका कारण खोप नभई कालगति र अरू नै रोगका कारण भएको जनाएका छन् ।

तर, खोपको प्रभावका बारेमा विश्व स्वास्थ्य संगठनलाई जानकारी गराउनुपर्ने नियमका कारण सरकारले अनुसन्धान सुरू गरेको बताइएको छ । नेपालले कोरोनाविरुद्धको खोप अभियानमा अहिलेसम्म भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड प्रयोग गरिरहेको छ ।

पहिलो र दोस्रो चरणमा गरी हालसम्म १७ लाख जनाले यो खोप लगाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top