ताजा समाचार


गर्भनिरोधक साधनको न्युन प्रयोगले असुरक्षित गर्भपतन निम्त्याउँदै

द रियल समाचार     २०७७ चैत्र २१, शनिबार, १७: ३१ मा प्रकाशित




प्रतिभा झा, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका अन्तर्गत १ सय जनामा ८० जनाले घरमै असुरक्षित गर्भपतन गरेको देखिन्छ । सरकारले सुरक्षित गर्भपतन सेवा प्रत्येक स्वास्थ्यचौकीमा निशुल्क उपलब्ध गराएपनि गाउँभेगका महिलाहरु त्यहाँसम्म नपुग्ने गरेको पाइएको छ ।

यस्तै, अस्थाई साधनको प्रयोग बारे जानकारी रहेपनि अधिकांशले गर्भनिरोधक साधनको प्रयोग नगरेको हुनाले गर्भपतन गर्नेको संख्या बढि देखिन्छ । शिक्षित महिलाहरु पनि अस्पतालसम्म पुग्न नसकेको कारणले पनि असुरक्षित गर्भपतन बढेको हो ।

स्थानीय निकायले तयार पारेको आर्थिक वर्ष २०७७/७८ को साउन देखी ०७७ माघ सम्मको तथ्यांक अनुसार २० वर्ष मुनिका १ जनाले मात्र मेडिकल अर्बोसन गराएको देखिन्छ । शहिदनगर नगरपालिकाको वडा नं ३ शहरीक्षेत्रमा १ जनाले मात्र स्वास्थ्यचौकीमा गई सुरक्षित गर्भपतन गराएको तथ्यांकले देखाउँछ । यस्तै, २० वर्षभन्दा माथीको ७० जनाले मेडिकल अर्बोसन गराएको तथ्यांक छ ।

तथ्यांकको आधारमा हेर्दा सुरक्षित गर्भपतन गराएको संख्या एकदमै न्युन छ । शहिदनगर स्वास्थ्य शाखाबाट उपलब्ध तथ्यांक अनुसार मातृत्व कार्यक्रम–सुरक्षित गर्भपतन सेवा–गर्भपतन पछि परिवार नियोजन विधिको लामो अवधिको लागी २०७७/७८ मा ३ जनाले सेवा लिएका छन् ।

मातृत्व कार्यक्रम–सुरक्षित गर्भपतन सेवा–गर्भपतन पछि परिवार नियोजन विधिको छोटो अवधिको लागी २०७७/७८ मा ५९ जनाले सेवा लिएका छन् । भने गर्भनिरोधक साधनको सेवा लिनेको संख्या हेर्दा पनि एकदम न्युन पाइएको छ । जसले पनि अनैच्छित गर्भ र असुरक्षित गर्भपतन बढेको देखिन्छ ।

धनुषाको शहिदनगर नगरपालिका घर भएकी प्रमिला सुडी (नाम परवर्तन) को पहिलो संतान छोरी छन् । तर उनी छोरी भएको ६/७ महिना नवित्दै फेरी गर्भवति भइन् । उनको त्यो गर्भ अनैच्छित थियो । जागिर तथा भविष्यलाई सुनिश्चतता नदिएसम्म अर्को संतान नलिने चाहना राखेका सुडी दम्पतिले गर्भपतन गराउन खोज्यो, प्रमिला भन्नुहुन्छ ।

पेशाले शिक्षिका रहेकी उनि गर्भपतनबारे अनभिज्ञ रहेको महिला झै श्रिमान्लाई भनि औषधी मगाएर खाइन् । उनलाई त्यो औषधीको नाम थाहछैन तर त्यो औषधीले काम गरेको शिक्षिका सुडी भन्नु हुन्छ । तर यो उनको अन्तिम गर्भपतन भने थिएन । पहिलो संतान छोरी भएको ३ साल पछी उनको अर्को संतान छोरा जन्मियो । जुन मेजर ऑपरेशन भएर भयो । र छोरा भईसके पश्चात संतान नलिने चाहना भएपनि अस्थाई साधन तथा गर्भनिरोधक सेवाको प्रयोग भने नगर्दा छोरा भएको ५ महिनामै उनि फेरी गर्भवति भईन् ।

यसपाली पनि पहिला जस्तै श्रिमान्लाई भनि उनले औषधि मगाएर खाइृन । तर चिकित्सकको सल्लाह नलिइकनै घरमा गरिएको उनको गर्भपतनको प्रयास विफल रह्यो । अत्याधिक रक्तश्राव र पेट दुखाईले उनी आफ्नो काँखे बच्चालाई दुध खुवाउन पनि नसक्ने भईन । पछी गाउँमै चेकजाँच गराउँदा उनको रक्तश्राव रोकियो र उनी आफ्नो गर्भ हटिसकेकोमा ढुक्क भईन । तर अनुमानित रुपमा हटेको गर्भ ५ महिना पछी आकार लिई पेट बढ्दा बल्ल उनी गर्भ नहटेको बुझिन । त्यसपछी उनि गाउँमा नगई जनकपुर आएर चेकजाँच गराउँदा गर्भ बसेको ५ महिना भई सकेको पत्ता लाग्यो ।

अब त्यो गर्भ हटाउँदा जटिल समस्या हुने भएकोले गर्भ राख्ने बाध्यता भयो शिक्षिका प्रमिलाको लागी । उनले अब गर्भबोकी घर पुगिन् । साताँै महिनामा अचानक रक्तश्राव र दुखाई सुरु भयो । रक्तश्राव र असह्य पीडाले आपतकालिन सेवामा जाँदा उनको त्यो भ्रुण पेट भित्रै समाप्त भएको चिकित्सकले भने ।

प्रमिला आफु शिक्षिका भएरपनि पहिलानै चिकित्सकमा किन नगएको सोध्दा सबैले एक÷दुई महिनाको गर्भलाई घरमै औषधि खाएर हटाउँदै आएको देख्दा आफुपनि त्यही गरेको बताउँछिन् । तर अनैच्छित गर्भ हटाउन यो नाराम्रो प्रयास रहेको र अब कसैलाईपनि चिकित्सक सल्लाह विना गर्भ नहटाउनलाई सल्लाह दिन्छिन् । प्रमिला भने अहिले कपर टी भन्ने गर्भ निरोधक अस्थाई साधनको प्रयोग गर्नु भएको छ ।

भ्रुण पहिचान गर्न मात्रै स्वास्थ्यचौकी पुग्ने
यता, शहिदनगर घर भएकी सिमा रजकको अनुसार अनैच्छित गर्भ हटाउनु पर्दा छोरा वा छोरी बुझ्नलाई मात्रै गर्भवतिहरु अस्पतालसम्म पुग्ने गरेको देखिन्छ । छोरा चाहिएको बेला त्यतिकै गर्भपतन नगरि लिंग पहिचान गर्न मात्र अस्पतालसम्म जाने नत्र प्राय घरमै औषधि खाएर गर्भपतन गर्ने गरेको पाईन्छ ।

अस्पताल जाँदापनि गर्भपतन गर्न नेपाल सरकारद्वारा स्वीकृत स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी पहिचान गरी जानेको संख्या समेत औंलामा गनती गर्न सकिने रजक बताउनु हुन्छ । आफैले गर्भपतन गर्नु उचित ठानेका महिलाहरुलाई अस्थाई साधनको बारे थाह हुँदाहँदै प्रयोग नगरेको पाईन्छ । स्वास्थ्यकर्मी सृजना रायका अनुसार अस्थाई साधनबारे लगभग सबैलाई जानकारी रहेतापनि उनिहरुले यसप्रति चासो नदिँदा घरमै तथा असुरक्षित गर्भपतन गर्नेको संख्यामा वृद्धि भएको देखिन्छ ।

यता, शहिदनगर नगरपालिकामा कक्षा ८ देखी कक्षा १२ सम्मका विद्यार्थीहरुलाई गर्भपतन के हो ? भन्न पनि समस्या रहेको विद्यार्थी कल्पना यादव बताउँछिन् । आफु कहिल्यैपनि गर्भपतन बारे नपढेको नबुझेको उनी बताउँछिन् । यस्तै, हाम्रोतिर गर्भपतन बारे खासै कुरा नहुँदा धेरै जना क्याम्पस लेभेलका विद्यार्थीलाई पनि गर्भपतन बारे थाहा नरहेको उनको भनाई छ ।

अस्थाई साधनबारे जानकार धरै प्रयोग गर्ने थोरै
यस्को अतिरिक्त धनुषाको शहिदनगर नगरपालिकाको ९ वटै वार्डको तथ्यांक हेर्दा अस्थाई गर्भनिरोधक साधनको प्रयोग गर्नेको संख्या खासै बढि देखिदैन । परिवार नियोजन कार्यक्रम –स्थायी एफपी विधि सार्वजनिक सुविधामा वर्तमान उपयोगकर्ताहरुको संख्या हेर्दा १७६ रहेको छ जुन २०७६/७७ देखी ०७७/७८ को माघ महिनासम्मको तथ्यांक हो र ती सबै परिवार नियोजन कार्यक्रम अन्तर्गत भएको पब्लिक क्याम्पमा यो सेवाहरु लीन सफल भएका महिलाहरु हुन् ।

परिवार नियोजन कार्यक्रम अन्तर्गत नै अस्थायी एफपी विधि कन्डम प्रयोगकर्ताको संख्या हेर्दा न्युनतम ३३० देखी बढिमा १७१३७ (२०७६/७७ मा १७१३७ र २०७७/७८ मा माघ महिनासम्ममा ६७८०) सम्म रहेको देखिन्छ भने अस्थायी एफपी विधीको डिपो लगाउनेको वर्तमान संख्या न्युनतम ९६ देखी ३५३३, ‘डिपो डिसकन्टीन्यु’ ५ देखी ४६५, ‘डिपो डोज क्युटीवाई’ २२ देखी १२४१, ‘डिपो न्यु युजर’ २० वर्ष भन्दा मुनि उमेरको संख्या २०७६ देखी २०७७ सम्मको आर्थिक वर्षमा १ देखी २४ जना मात्रै रहेको छ ।

डिपो न्युयुजर २० वर्ष भन्दा माथीको संख्या ९ वटै वार्डमा हेर्दा ३ जना मात्र रहेको छ । आईयुसीडी सेट ३, इम्पलान्ट करेन्ट युजर २०७७/७८ मा १८९ र ०७६/७७ मा २९७, पील्स प्रयोगकर्ता ०७६/७७ मा १७७५ र ०७७/७८ को माघ महिनासम्म १०५० जना रहेको छ भने पील्स साइकल क्युटीवाई १४६१ र १०४० रहेको छ । पील्स डिसकन्टीन्यु २१६ र १५८, पील्स २० वर्ष भन्दा मुनिको ११ र ८, २० वर्ष भन्दा माथीको २६६ र ११४ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top