जनकपुरधाम । प्रदेश नम्बर २ मा शनिबार फरक फरक दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
जनकपुरमा एम्बुलेन्सले ठक्कर दिंदा एकजना साइकलयात्रीको मृत्यु भएको छ भने बारामा कार दुर्घटना हुँदा अर्का एकजनाको ज्यान गएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ मा एम्बुलेन्सको ठक्करबाट स्थानीय २४ वर्षीय बसन्त कुमार झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
ज १ च ७७७ नम्बरको एम्बुलेन्सको ठक्करबाट घाइते भएका झाको जनकपुरधामस्थित एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए । ठक्कर दिने एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
उता, बाराको कोल्हवी नगरपालिकामा भएको कार दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । बा १५ च ८३३० नम्बरको कार दुर्घटना हुँदा कारका चालक कोल्हवी नगरपालिका–५ का ५५ वर्षीय हरेराम भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीव्र गतिका कारण कार सोही नगरपालिका–८ स्थित सडकबाट तल खसेर दुर्घटनाग्रस्त हुँदा चालक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।
प्रतिक्रिया