ताजा समाचार


वुमन्स च्याम्पियनसिपमा नेपाल एपिएफ क्लबको विजयी शुरुवात

द रियल समाचार     २०७७ चैत्र २१, शनिबार, १४: ०६ मा प्रकाशित




काठमाण्डौ । ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लबले विजयी शुरुवात गरेको छ ।

उसले शनिबारको खेलमा प्रदेश–१ माथि ८ विकेटको सहज जित हात पारेको हो । प्रदेश–१ ले दिएको १०७ रनको लक्ष्य एपिएफले १८ ओभरमा मात्र २ विकेट गुमाउँदै पूरा गर्यो ।

एपिएफकी कप्तान सीता रानामगरले अर्धशतकीय पारी खेलिन् । ५२ रनमा अविजित रहेकी उनले ५० बलमा ७ चौक प्रहार गरिन् । ज्योति पाण्डेले ३२ रनको योगदान दिइन् । १२.३ ओभरमा संगीता राईले अप्सरी बेगमबाट क्याच गराउनुअघि उनले ४० बलमा ५ चौका प्रहार गरिन् । इन्दु वर्मा ८ रनमा अविजित रहिन् ।

प्रदेश–१ का संगीता राई र रुविना क्षेत्रीले १–१ विकेट लिए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश–१ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०६ रनको योगफल तयार पारेको थियो ।

उसका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ४५ रनको योगदान दिइन् । १६.४ ओभरमा सीता रानामगरले विकेटकिपर ज्योति पाण्डेबाट स्ट्याम्पिङ गराउनुअघि उनले ४८ बलमा ६ चौका प्रहार गरिन् ।

रोमा थापाले ३३ रनको योगदान दिँदा निग्मा तामाङ ७ र निशा शाह ५ रनमा अविजित रहे । एपिएफका लागि रेखा रावल, सीता रानामगर, करुणा भण्डारी र विन्दु मगरले समान १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top