ताजा समाचार


पूर्वी ताइवानमा भएको यात्रुवाहक रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुग्यो

द रियल समाचार     २०७७ चैत्र २०, शुक्रबार, १६: २४ मा प्रकाशित




एजेन्सी । पूर्वी ताइवानमा भएको यात्रुवाहक रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ । उक्त दुर्घटनामा दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

ताइपेइबाट ताइतुङतिर लागेको रेल हुवालियन क्षेत्रको सुरुङमा शुक्रवार बिहान दुर्घटना भएको थियो । ३५० भन्दा बढी यात्रु रहेको रेलले ट्रयाक छोडेकाले उक्त दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा रेल चालकको पनि मृत्यु भएको छ । मृत्यु भएकामध्ये केहीको अझै पहिचान खुलेको छैन । घटनामा घाइते भएका करिब ६९ जनालाई विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको त्यहाँस्थित सेन्ट्रल न्युज एजेन्सी (सीएनए) ले जनाएको छ ।

द तरोको एक्स्प्रेसको रेल प्रति घण्टा ८० माइलको गतिमा कुद्ने गर्छ । ताइवानको रेल विभागले घटनाबारे विस्तृत अनुसन्धान बाँकी नै रहेको जनाएको छ ।

सुरुङ नजिक रहेको भिरालो जमिनबाट चप्लिएको गाडी गुडिरहेको रेलमा ठोक्किँदा उक्त दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको सीएनएले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top