काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित चारजना पूर्व प्रधानन्यायाधीशविरुद्ध परेको अवहेलना मुद्दालाई सर्वोच्च अदालतले आज हेर्न नभ्याइनेमा पठाएको छ ।
सर्वोच्चले प्रधानमन्त्री ओली तथा पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्धको अवहेलना मुद्दामा पेशी तोकेर पनि हेर्न नभ्याइनेमा राखेको हो ।
अवहेलना मुद्दाको पेशी न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा तोकिएको थियो । गत माघ १३ गते प्रधानमन्त्री ओलीविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र कुमार शर्मा आचार्यले मुद्दा हालेका थिए ।
पूर्व प्रधानन्यायाधीशविरुद्ध अधिवक्ता राजाराम घिमिरेले मुद्दा दायर हालेका थिए । यसअघि न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ओलीसहित पूर्व प्रधानन्यायाधीशलाई आफैँ उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।
आदेश अनुसार प्रधानमन्त्री ओली र चार पूर्व प्रधानन्यायाधीशले लिखित जवाफ दिएका थिए । संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेका बेला उक्त मुद्दालाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएको भन्दै उनीहरुविरुद्ध अवहेलना मुद्दा परेको थियो ।
–फरकधार
प्रतिक्रिया