जनकपुरधाम । धनुषाको फरक फरक स्थानमा एकैदिन दुईजना पुरुषको शव फेला परेको छ ।
बिहीबार बिहान खेतमा काम गर्न निस्किएका एक व्यक्ति सोही साँझ मृत अवस्थामा फेला परेका छन् भने एक पुरुषको आँपको बगैँचामा शव फेला परेको हो ।
खेतमा काम गर्न निस्किएका जिल्लाको औरही गाउँपालिका-३ बस्ने ४० वर्षीय विजय मण्डल मृत फेला परेको प्रहरीले जनाएको छ ।
राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय औरहीले जनाएको छ ।
मृतकको घाँटीमा गम्छा बाँधिएकोले कसैले उनको हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको प्रहरी नायव निरीक्षक सन्तोष झाले जानकारी दिए । पोष्टमार्टमको रिपोर्ट पश्चात थप अनुसन्धान हुने उनले बताए ।
त्यस्तै, बिहीवार बिहानै क्षिरेश्वरनाथ नगरपालिका-३ पर्सा पकडियामा आँपको बगैंचामा एक पुरुषको शव फेला परेको छ ।
मृतकको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । उनलाई कसैले हत्या गरेर बगैँचामा फालेको हुनसक्ने स्थानीयको आशंका छ ।
यी दुबै घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रतिक्रिया