ताजा समाचार


जनकनन्दनी गापामा तेस्रो अध्यक्ष गोल्ड कप फुटबल सुरु, उद्घाटन खेलमा महोत्तरी बेलखांडी ३ गोलले विजयी

द रियल समाचार     २०७७ चैत्र १९, बिहीबार, २०: ४९ मा प्रकाशित




विनोद महतो, जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिकामा तेस्रो अध्यक्ष गोल्डकप फुटबल टुर्नामेन्ट बिहीबारदेखि सुरु भएको छ ।

महावीर स्पोर्टस क्लव खजुरीका अध्यक्ष दिलीप कुमार यादवको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष अब्दुर बारिक शेखको प्रमुख आतिथ्यमा टुर्नामेन्टको उद्घाटन गरिएको हो ।

टुर्नामेन्टको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शेखले खेल र खेलाडीको विकासका लागि वार्षिक रुपमा फुटबल टुर्नामेन्टको आयोजना गर्ने बताए । खेलकुदमा फुटबलका लागि खजुरीको नाम देशमै चर्चित रहेको र यहाँका खेलाडीहरु देश विदेशमा समेत ख्याती कमाई सकेको बताउँदै प्रमुख अतिथि शेखले अब आउने युवा पुस्ताका खेलाडीहरुलाई समेत फुटबलमा खजुरीको नाम उचों राख्न आग्रह गरे ।

महावीर स्पोर्टस क्लवका अध्यक्ष दिलीप कुमार यादवले खेलकुदको विकासका लागि आफुहरुले प्रत्येक वर्ष फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको बताए । खेल र खेलाडीहरुको विकासका लागि नै महावीर स्पोर्टस क्लवको स्थापना भएको र यहाँका आउने पुस्तालाई समेत फुटबलमा अगाडी बढाउन आफुहरु क्रियाशिल रहेको अधयक्ष यादवको भनाई थियो ।

टुर्नामेन्टको उद्घाटनको अवसरमा गाउँपालिका उपाध्यक्ष भारती कार्की, प्रमुख प्रशासकीय अधिकृत अयोधी दास, सबै वडाका वडाध्यक्षहरु, जनप्रतिनिधी, पार्टी प्रतिनिधीहरु, अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य तपेश्वर राउत, जिल्ला फुटबल संघका उपाध्यक्ष राजदेव साह लगायत पालिकाका कर्मचारी, खेलप्रेमी, स्थानीयहरुको व्यापक उपस्थिति रहेको थियो ।


बिहीबारको उद्घाटन खेलमा उदयपुरको गाईघाट फुटबल क्लव र महोत्तरीको बेलखांडीबीच प्रतिस्पर्धा भएको थियो। उद्घाटन खेलमा महोत्तरीको बेलखांडीले ३ गोल गरेर जित हासिल गरेको सह-आयोजक महावीर स्पोर्टस क्लवका सचिव सुनिल पासवानले जानकारी दिएका छन् ।

महोत्तरीका लागि तीन वटै गोल गरेको जर्सी नं. ११ का खेलाडीलाई बेस्ट खेलाडी घोषित गर्दै प्रमुख अतिथिले कप प्रदान गरेका थिए । यता शुरुदेखि नै दवावमा रहेको गाईघाटले खेलको अन्त्यसम्म पनि गोल गर्न सकेन् ।

जनकनन्दनी गाउँपालिका वडा नं. ४ खजुरीस्थित परसाहा फुटबल मैदानमा सुरु भएको सो टुर्नामेन्ट चैत २५ गतेसम्म सञ्चालन हुनेछ । यता शुक्रवारको खेलमा सह-आयोजक महावीर स्पोर्टस क्लव खजुरी र हेटौडा स्पोर्टस क्लव हेटौडाबीच प्रतिस्पर्धा हुनेछ ।

सो टुर्नामेन्टमा देशभरिकै ८ वटा टिमको सहभागिता रहेको आयोजक जनकनन्दनी गाउँपालिकाले जनाएको छ । टुर्नामेन्टमा स्थानीय श्री महावीर स्पोर्टस क्लव खजुरी, उदयपुर, वीरगंज, महोत्तरी बेलखांडी, सर्लाही, हेटौडा, विराटनगर र जनकनन्दनी ११ गरी जम्मा ८ वटा टिमको सहभागिता रहेको सह-आयोजक महावीर स्पोर्टस क्लव (MSC) खजुरीले जनाएको छ ।

सो टुर्नामेन्टमा प्रथम हुने टिमलाई शिल्ड, प्रमाण पत्र, मेडल सहित नगद एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ भने दोस्रो हुने टिमलाई प्रमाण पत्र, शिल्ड, मेडल सहित नगद ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top