ताजा समाचार


युवकको घाँटी रेटेर हत्या गर्ने मामा भान्जालाई सार्वजनिक गरियो

द रियल समाचार     २०७७ चैत्र १८, बुधबार, १८: २६ मा प्रकाशित




राजा झा, जनकपुरधाम । सर्लाहीमा युवकको घाँटी रेटेर हत्या गर्ने दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले मलंगवा नगरपालिका वडा नं. १० का २५ वर्षीय शुसिल कुमार यादवको घाँटी रेटेर हत्या गरेको आरोपमा पक्राउ परेका मामा र भान्जालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको मगंगवा नगरपालिका वडा नं. १० का ४५ वर्षीय बिमलकान्त पाठक र भारत विहार राज्य जिल्ला सितामढी थाना बथनाहा मझौलियास्टेट वडा नं. १० का ४१ वर्षीय अशोक झा रहेका छन् ।

चैत १२ गते बुधबारको दिन मृतक शुसिलको शव मलंगवा नगरपालिका वडा नं. ९ स्थित पचगछिया चौरीमा रहेको नागेश्वर रायको खेतमा टाउको काटेको अवस्थामा फेला परेको थियो । सोही दिन प्रहरीले मामा बिमलेन्द्र पाठक र भान्जा अशोक झालाई पक्राउ गरेको थियो ।

सर्लाहीका प्रहरी उपरीक्षक संतोष सिंह राठौरले मृतक शुसिल र हत्या गर्ने बिमलकान्त पाठक बिच पहिला पनि विवाद भएको बताए । करिब ६ महिना पहिला बिमल कान्त पाठकको घरमा चोरी भएको थियो । उक्त चोरी शुसिल कुमार यादवले नै गरेको र तिनीहरुबिच पटक पटक वादविवाद तथा झै–झगडा हुँदै आएको थियो ।

प्रहरी उपरीक्षक राठौरले भने, ‘तिनीहरुबिच पटक पटक झै झगडा हुँदै आएको थियो । झगडा हुँदै आएको कारण शुसिल कुमार यादवले मलाई नै मार्न सक्छ भनी प्रतिवादी बिमलकान्त पाठकले मौका मिलाई शुसिल कुमार यादवलाई मार्ने योजना बनाएको थियो ।’ घटनाको केहि दिन पहिलापनि बिमलकान्त पाठकको घर अगाडीबाट पानी तान्ने मोटर तथा जुत्ता चोरी भएको थियो ।

अनुसन्धानको क्रममा अभियुक्त मामा–भान्जाले शुसिललाई लागुऔषध सेवन गराई हत्या गरेको खुलेको प्रहरी उपरीक्षक राठौरले बताए । उनले भने, ‘घटना भएको दिन चैत ११ गते बेलुका करिब ८ बजे बिमलकान्त पाठक र निजको भान्जा अशोक झा मलंगवा नगरपालिका वडा नं. १० स्थित होटलमा रक्सी, मासु र चना खाएका थिए । त्यहाँबाट निस्केपछि मृतक शुसिल साइकल चढेर आउँदै गरेकोमा प्रतिवादीहरुले शुसिललाई तिमीसँग काम पनि छ, गाँजा पनि खानुपर्छ जाउँ भनेर आफ्नो घर लगेका थिए’, उनले अगाडी भने, ‘तीनै जना बिमलकान्त पाठकको घरमा करिब सवा ९ बजे पुगेर बिमलकान्त र मृतक शुसिल लागू औषध नाईट्रोभेट ट्याब्लेट सेवन गरेका थिए । उनीहरु पुनः तीनै जना गाँजा समेत सेवन गरे ।’

पक्राउ परेका मामा–भान्जाले शुसिललाई घरमा खाना खुवाएर बिमलकान्तको श्रीमती लगायतका अन्य घर परिवारका सदस्यहरु आ–आफ्नो कोठामा सुत्न गएपछि पुनः संगै बसी गाँजा तथा अन्य लागू औषधहरु सेबन गर्ने क्रममा योजना बनाएको खुलेको प्रहरी उपरीक्षक राठौरले बताए ।

मामा–भान्जाले शुसिललाई लागू औषध गाँजा तथा ट्याब्लेटहरु सेवन गराई लठ अबस्थामा पारेर डोरीले हात खुट्टा र जिउ बाँधी मुखमा गम्छा कोँचेर हतियार सहित घटनास्थलमा लगेको अनुसन्धानको क्रममा खुलेको छ ।

बिमलकान्तले आफ्नो घरभन्दा करिब ४/५ सय मिटर पूर्व शुसिललाई लगेर अशोकले आफ्नो घुँडाको भागले शुसिलको पेट तथा छातीको भाग थिचेर राखेको र बिमलकान्तले ल्याएको धारिलो हतियारले शुसिलको घाँटीको भागमा पटक–पटक प्रहार गरी घाँटी काटेका थिए ।

अशोकले टाउकाको भाग घटनास्थलबाट पूर्व तर्फ फालेको र बिमलकान्तले शुसिलको काटेको ठाउँ घाँटीको भाग तथा शरीरको भागमा बालुवा तथा माटो लगाएको र टाउको फ्याकेको स्थानमा गई माटो तथा बालुवाले छोपेर घटनामा प्रयोग गरेको हतियारमा लागेको रगतलाई घटनास्थल वरीपरी रहेको झारपातले पुछेर हतियार र डोरी आफ्नो घरमा बालुवा तथा माटोले रगेटी सफा गरेर राखेका थिए । प्रहरीले वारदातमा प्रयोग गरेको फलामको धारिलो हतियार (मार हान्ने) ठुलो खुकुरी र प्लाष्टिकको डोरी बरामद गरेको थियो ।

पक्राउ परेका मध्ये मामा बिमलकान्त २०६९ साल भदौ १२ गते लागूऔषध नाईट्रोभेट ९ ट्याब्लेट र कोरेक्स १ बोतल सहित पक्राउ परेका थिए । अनुसन्धान पश्चात उनी २०६९ असोज १४ गते २ हजार ५ सय रुपैयाँ धरौटी तिरी तारिखमा छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top