ताजा समाचार


मन्त्रालयकै कर्मचारीले प्रोटोकल तोडेपछि स्वास्थ्य मन्त्रीले मागे माफी

द रियल समाचार     २०७७ चैत्र १७, मंगलवार, ११: ५१ मा प्रकाशित




एजेन्सी । कोभिड–१९ विरुद्ध सरकारले जारी गरेको प्रोटोकल स्वास्थ्य मन्त्रालयकै कर्मचारीले तोडेपछि जापानका स्वास्थ्य मन्त्रीले माफी माग्नु परेको छ।

समाचार संस्था रोयर्टसले दिएको खबर अनुसार जापानको स्वास्थ्य मन्त्री नोरिहिसा तामुराले आफ्नो मन्त्रालयका कर्मचारीको गल्ती गरेपछि माफी मागेका हुन्।

मन्त्रालयका कर्मचारीले सरकारले जारी गरको प्रोटोकल मिचेको मन्त्री नोरिहिसाले स्वीकार गरेका छन्।

टोकियो र आसपासका प्रान्तहरुमा कोभिड–१९ संक्रमण फैलिने जोखिम उच्च रहेको भन्दै सरकारले सतर्ककता अपनाउन विभिन्न प्रोटोकल तयार पारेको थियो।

रेष्टुरेण्ट राति ९ बजेभन्दा बढी समय खोल्न नपाउने र धेरै जना जम्मा हुन नपाउने नियम जारी गरेको थियो। स्वास्थ्य मन्त्रालयले बनाएको नियम सोही मन्त्रालयका कर्मचारीले नै उल्लंघन गरेका कारण मन्त्रीले माफी माग्नु परेको हो।

यही मार्च २४ मा स्वास्थ्य मन्त्रालयका २३ जना कर्मचारीहरु रातिमा एक ठाउँ भेला भएर पार्टी मनाएका थिए।

स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु एक रेस्टुरेण्टमा जम्मा भएर आधा रातसम्म बसी फेयरवेल पार्टी मनाएको जापानका स्थानीय मिडियालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

त्यो कुरा बाहिर आएपछि मन्त्री र मन्त्रालयको तीब्र आलोचना भएको थियो । त्यो घटनाका कारण आफू दुःखी भएको भन्दै स्वास्थ्य मन्त्री नोरिहिसा तामुराले माफी मागेका हुन्।

घटनाबारे छानबिन गरिने जानकारी पनि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top