ताजा समाचार


त्रिदेशीय फुटबल : नेपाल र बंगलादेशले एक अर्काको सामना गर्दै

द रियल समाचार     २०७७ चैत्र १६, सोमबार, १२: ०१ मा प्रकाशित




काठमाण्डौ । त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपाल र बंगलादेशले एक अर्काको सामना गर्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुनेछ ।

चैत १० देखि सुरु भएको प्रतियोगितामा नेपाल, बंगलादेश र किर्गिस्तानको यू-२३ टिमको सहभागिता थियो । बंगलादेशले समूह चरणमा किर्गिस्तानलाई १-० ले पराजित गर्दा नेपालसँग गोलरहित बराबरी खेलेको थियो । नेपालले समूह चरणका दुवै खेलमा गोलरहित बराबरी खेलेको थियो ।

नेपाललाई घरेलु मैदानको फाइदा उठाउँदै उपाधि हात पार्ने अवसर छ । तर, लयमा देखिएको बंगलादेशलाई हराउन त्यति सहज भने छैन ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्दा उप विजेताले ३ हजार र सर्वोकृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पुरस्कार पाउनेछन् ।

नेपाल र बंगलादेशको ‘हेड टु हेड’
हालसम्म नेपाल र बंगलादेश २३ खेलमा आमनेसामने भएका छन् । जसमा बंगलादेश १३ खेलमा विजयी हुँदा नेपाल ६ खेलमा विजयी भएको छ । ४ खेल बराबरीमा सकिएको छ ।

नेपाल र बंगलादेशले पहिलोपटक सन् १९८३ सेप्टेम्बर २२ मा एक अर्काको सामना गरेका थिए । यो खेलमा बंगलादेश १-० ले विजयी भएको थियो ।

यी दुई पछिल्लोपटक सन् २०२१ मार्च २७ मा आमनेसामने भएका थिए । यो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

नेपालले पहिलोपटक सन् १९८४ सेप्टेम्बर २५ मा बंगलादेश माथि ४-२ को तथा पछिल्लोपटक सन् २०१८ सेप्टेम्बर ८ मा २-० को जित निकालेको थियो ।

पछिल्ला पाँच खेलमा नेपालले ३ खेलमा बराबरी खेल्दा २ खेल गुमाएको छ । तुलनात्मक रुपमा बंगलादेश केही बलियो देखिएता पनि नेपाललाई घरेलु दर्शकको साथ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top