ताजा समाचार


बागलुङ घटना अनुसन्धानका लागि एसपीको नेतृत्वमा टोली खटाइयो

द रियल समाचार     २०७७ चैत्र १६, सोमबार, ११: ०० मा प्रकाशित




बागलुङ । बागलुङको बडिगाड गाउँपालिका-१० बल्देधुरीमा होली खेल्ने क्रममा झडप भएर युवाहरुले ज्यान गुमाएको घटनामा अनुसन्धानका लागि नेपाल प्रहरीले एसपीको टोली खटाएको छ ।

घटनाको विषयमा विस्तृत अध्ययनका लागि जिल्ला प्रहरी कार्यालय बागलुङबाट एसपी कृष्ण बहादुर पल्ली मगर नेतृत्वको टोली घटनास्थल गएको छ । घटनालगत्तै एसपी मगरको नेतृत्वमा ११ जनाको टोली त्यसतर्फ लागेको हो ।

यसअघि होली खेल्नेक्रममा आइतबार दिउँसो झडप हुँदा ज्यान गुमाएका दुईमध्ये एकजना नेपाली कांग्रेसका जिल्ला सदस्य भएको खुलेको छ ।

झडपका क्रममा हत्या गरी भीरमा फालिएका मध्ये निसिखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर नेपाली कांग्रेस जिल्ला कमिटी सदस्य रहेको खुलेको छ । स्थानीय पत्रकार बिमल खड्काका अनुसार उनी जिल्लामा परिचित कांग्रेस नेता थिए ।

उनीसँगै सोही स्थानका ३४ वर्षीय दीपक दमाईको पनि हत्यापछि भीरमा शव फालिएको अवस्थामा प्रहरीले भेट्टाएको छ । गुल्मी, बागलुङ र प्युठानका युवाहरु भेला भएर होली खेल्ने क्रममा बल्देधुरीमा झडप भएको थियो ।

सयौँ युवाहरु भेला भएर होली खेल्ने क्रममा भएको झडपका क्रममा कम्तिमा १५ जना युवा भीरबाट खसेको अनुमान गरिएको थियो । तर, तीमध्ये दुईजनाको शव भेटिएको छ भने अन्य केही युवा आइतबार राति घर फर्किएको बताइएको छ । अझै पनि केही युवाहरु हराइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार होली खेल्ने क्रममा गाईभैँसी चराउने भीरमा करिब १० देखि १५ युवालाई धकेलिएको थियो । दिउँसो भएको झडपपछि बेपत्ता उनीहरुको अपरान्हदेखि खोजी गरिएको थियो । इलाका प्रहरी कार्यालय भीमगीठेको टोली घटनास्थल पुगेर खोजी थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top