ताजा समाचार


म्यानमारमा सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्दा एकैदिन ११४ जना प्रदर्शनकारीको मृत्यु

द रियल समाचार     २०७७ चैत्र १५, आईतवार, १०: ५७ मा प्रकाशित




एजेन्सी । म्यानमारमा सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्दा एकैदिन ११४ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

सैन्य कू विरुद्ध शनिबार भएको प्रदर्शनमा सुरक्षा निकायको कारबाहीमा परी ११४ जनाको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

निर्वाचित सरकारलाई अपदस्थ गरी शासन हातमा लिने सेनाको कदमविरुद्ध म्यानमारमा प्रदर्शन चर्किँदै जाँदा सेनाले निहत्था नागरिकमाथि दमन बढाएको छ । नेतृ आङ सान सुकी लगायतको रिहाइ र प्रजातन्त्रको पुनर्बहालीका लागि भइरहेको प्रदर्शन अन्तर्गत शनिबार सैन्य ‘कु’ यताकै खतरनाक र रक्तपात युक्त दिन बनेको छ ।

म्यानमारमा शनिबार सशस्त्र बल दिवसको अवसरमा राजधानीमा आयोजित सेनाको कार्यक्रममा कुनै पनि किसिमको अवरोध गर्न खोज्नेलाई टाउको र ढाडमा गोली हान्न सेनाले आदेश दिएको थियो । तर, त्यसको बेवास्ता गर्दै यांगुन, मन्डलेलगायत सहरमा नागरिक सडकमा उत्रँदा ठूलो मानवीय क्षति भएको हो ।

जनप्रदर्शनको क्रममा म्यानमारमा अहिलेसम्म करिब साढे ४ सय जनाले ज्यान गुमाइसकेका छन् । एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्सले मुख्य सहर यांगुन र दोस्रो ठूलो सहर मन्डलेमा अझै बढी संख्यामा प्रदर्शनकारी मारिएको हुन सक्ने जनाएको छ ।

शनिबार मन्डलेमा हालसम्मकै सबैभन्दा कान्छो पाँच वर्षीय बालकसहित कुल २९ जना मारिएका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यसअघि गत मंगलबार बाबुको काखमा खेलिरहेकी सात वर्षीया खिन म्यो चिटको सेनाको गोली लागेर ज्यान गएको थियो ।

सेभ द चिल्ड्रेनका अनुसार म्यानमारमा जारी प्रदर्शनका क्रममा कम्तीमा २० बालबालिकाले ज्यान गुमाएका छन् । यता, सैन्य सरकारका तर्फबाट ज मिन टुनले पत्रकार सम्मेलन गर्दै रक्तपातका लागि प्रदर्शनकारी नै जिम्मेवार रहेको यसअघि नै बताइसकेका छन् । प्रदर्शनका क्रममा सुरक्षा बलका पनि ९ जनाको निधन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top