ताजा समाचार


गोरधोई पोखरीमा पानी नभएपछि हिलोमै खुट्टा पखाल्न बाध्य श्रद्धालु

द रियल समाचार     २०७७ चैत्र १५, आईतवार, ०८: २८ मा प्रकाशित




जनकपुरधाम । जनकपुरधाममा पञ्चकोषी (अन्तरगृह) परिक्रमा घुम्ने साधुसन्त एवं भक्तजनहरुले गोरधोई पोखरीमा पानी नभएपछि हिलोमै खुट्टा पखाल्न बाध्य भएका छन् ।

रामायणकालीन समयमा भगवान रामसँग आएका जन्तीहरुको खुट्टा पखाल्नका लागि तत्कालीन समयमा खनिएको जनकपुरधामको पिडारीचोकस्थित गोरधोई पोखरीमा आज पञ्चकोषी (अन्तरगृह) परिक्रमाको दिन पनि पानीको कुनै अत्तोपत्तो देखिएन ।

गोरधोई पोखरी अहिले खाल्डोमा परिणत भएको छ । सो पोखरीमा अहिले पानी नै छैन् । सडक विस्तारको नाममा पोखरी पुरिदैं छ ।

१५ दिने मिथिला माध्यमिकी परिक्रमा समापन पश्चात अन्तिम दिनमा जनकपुरधामको अन्तरगृह परिक्रमा गर्ने क्रममा परिक्रमा यात्रीहरु गोरधोइ पोखरीमै आफ्नो खुट्टा पखाल्छन् । अन्तरगृह परिक्रमाको क्रममा सो पोखरीमा खुट्टा पखालेर नै श्रद्धालु भक्तजनहरु परिक्रमाको क्रमलाई अगाडी बढाउँदै आएका छन् । तर, स्थानीय सरकारको लापरवाहीका कारण पोखरीमा पानी नभएपछि श्रद्धालुहरु हिलोमै खुट्टा पखाल्न बाध्य भएका छन् ।

आफ्नो छुट्टै महत्व बोकेको सो विशाल पोखरी धनुषाको जटही देखि ढल्केबरसम्म निर्माण भईरहेको सिक्सलेन सडकका कारण खाल्डोमा परिणत हुन पुगेको छ । गोरधोई पोखरीको आधा भाग पुरेर सडक बनाउने काम भइरहेको छ । पटक पटक चारै तर्फबाट अतिक्रमणको मार खेप्दै आएका सो ऐतिहासीक पोखरी अब समाप्तीकै कगारमा पुगेको छ ।

यस सम्बन्धमा जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता कुमारी मिश्रसँग सञ्चारकर्मीले यसअघि प्रश्न गर्दा उनले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्सँग छलफल गरेर सो पोखरीमा तत्काल पानीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएकी थिइन् । तर, उनको त्यो प्रतिबद्धता बोलीमा मात्र सिमित भएको आज स्पष्ट देखिएको छ ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल कुमार मिश्रले जनकपुरधाम मठमन्दिर तथा पोखरीहरुले नै चिनिने भएकोले यस्ता धार्मिक महत्व राख्ने पोखरीहरुलाई बचाउनुपर्ने आवश्कता रहेको बताए ।

उनले भने,‘एकातर्फ जनकपुरधाम उपमहानगरपालिकाले पोखरीहरुलाई सम्वर्द्धन गर्नका लागि करोडौंको बजेट ल्याउने र अर्को तर्फ यस्ता पोखरीहरुकै अस्तित्वनै समाप्त भइरहँदा चुप लागेर बस्नुले जनकपुरधामलाई पर्यटन क्षेत्र बनाउने सपना माथि कुठाराघात गर्नु सरह रहेको छ ।’

जनकपुरधामका धरोहरहरुलाई समाप्त नगरिक वैकल्पीक बाटो खोजेर विकास निमार्णको कार्य अगाडी बढाउनुपर्ने स्थानीयको भनाइ छ ।

तस्बिर : नेहा झा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top