ताजा समाचार


नेपाल थ्री नेसन्स कपको फाइनलमा

द रियल समाचार     २०७७ चैत्र १४, शनिबार, १९: ४६ मा प्रकाशित




काठमाण्डौ । बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा पुगेको छ। ‌बंगलादेशसँग बराबरी या जितको परिणामले नेपाल फाइनल पुग्ने थियो।

पहिलो र दोस्रो हाफमा आक्रमक खेले पनि नेपालले स्कोर गर्न सकेन। यससँगै कीर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको छ। कीर्गिस्तानलाई फाइनलमा पुग्ने आजको खेलमा नेपालले बंगलादेशसँग कम्तीमा दुई गोलको हार भोग्नुपर्ने थियो।

बराबरी खेले पनि नेपाल फाइनल प्रवेश गरेको हो। २ खेलबाट ४ अंक जोडेको बंगलादेश पहिलो र २ खेलबाट २ अंक जोडेको नेपाल दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेका हुन् ।

पहिलो खेलमा बंगलादेशले कीर्गिस्तानलाई १–० ले पराजित गरेको थियो । नेपालले पहिलो खेलमा पनि कीर्गिस्तानसँग गोल रहित बराबरी खेलेको थियो । प्रतियोगितामा नेपालसहित बंगलादेश र कीर्गिस्तान यु–३० टिम सहभागी थिए । यी दुई टोलीले चैत १६ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यो खेल गोलरहित बराबरी भएपछि अब सोमबार नेपाल र बंगलादेश उपाधिका लागि भिड्नेछन्। प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्दा उप विजेताले ३ हजार र सर्वोकृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।

आजको खेलको पहिलो हाफमा दुवै टोलीले राम्रा केही मौकामा चुके। बंगलादेशविरुद्ध आक्रामक खेलेको नेपाल गोल गर्न भने चुकेको थियो। खेलको २१ औं मिनेटमा त्रिदेव गुरुङको क्रसमा अन्जन विष्टको फ्री हेडर क्रस बार माथिबाट बाहिरियो।

बंगलादेशले पनि पहिलो हाफमा केही अवसर गुमायो। खेलको ३७ औं मिनेटमा मोहमद इमोनको हेडर दिनेश राजवंशीले गोल लाइन अगाडिबाट क्लियर गरिदिए।

४० औं मिनेटमा कप्तान जमल भुयाको उत्कृष्ट फ्री-किक पोस्ट नजिकबाट बाहिरिँदा बंगलादेश पछुतायो। दोस्रो हाफमा पनि नेपालले आक्रमक खेलेको थियो। नेपालले बंगलादेशको पोस्टमा राम्रो आक्रमण गरे पनि गोलमा परिणत गर्न सकेन।

बंगलादेश यसअघि नै फाइनलमा पुगेको थियो। बंगलादेशले पहिलो खेलमा कीर्गिस्तानको यू-२३ टिमलाई १(० ले हराएको थियो । नेपालले किर्गिस्तानविरुद्ध गोलरहित बराबरी खेलेको थियो । राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताका शीर्ष दुई टिमबीचको फाइनल सोमबार हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top