ताजा समाचार


काँग्रेस नेता जोशीको निधनप्रति राष्ट्रपति एवं प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

द रियल समाचार     २०७७ चैत्र १४, शनिबार, १८: १९ मा प्रकाशित




काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनमा दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले आज बिहान ट्वीट गर्दै इमान्दार एवं स्वच्छ छवि भएका उनको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको जनाएकी छन् । स्वर्गीय जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना पनि प्रकट गरेकी छन् ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एक वक्तव्य जारी गर्दै लेखेका छन्, ‘काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको खबरले मलाई अत्यन्त दुःख लागेको छ, यस दुःखद् घडीमा दिवंगत नवीन्द्रराज जोशीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजन, शुभचिन्तक र नेपाली कांग्रेसका नेता–कार्यकर्ताप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’

लोकतान्त्रिक आन्दोलनमा जोशीले महत्वपूर्ण योगदान गरेको भन्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसभित्र निष्ठावान, इमान्दार, जुझारु छवि निर्माण गरेको बताए । ०६४ र ०७० सालमा संविधानसभाका सदस्य रहेका जोशी २०७३ सालमा प्रचण्ड नेतृत्वको सरकारमा मन्त्रीसमेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top