ताजा समाचार


सर्लाहीमा एक युवकको विभत्स हत्या गरेको आरोपमा २ जना पक्राउ

द रियल समाचार     २०७७ चैत्र १३, शुक्रबार, १३: २६ मा प्रकाशित




सर्लाही । सर्लाहीमा एक युवकको विभत्स हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

जिल्लाको मलंगवा नगरपालिका–१० का ३० वर्षीय सुशिल रायको हत्या गरेको आरोपमा प्रहरीले मलंगवाका ४५ वर्षीय विमलकान्त पाठक भनिने कमल पण्डित र भारतीय नागरिक ४० वर्षीय अशोक झालाई पक्राउ गरेको हो ।

बुधवार रातिदेखि बेपत्ता राय बिहीवार बिहान स्थानीय धान खेतमा मृत फेला परेका थिए । टाउको काटेर हत्या गरिएको अवस्थामा मलंगवा नगरपालिका–९ स्थित खेतमा उनको शव फेला परेको थियो । रायको शरीर र टाउको बेग्लाबेग्लै स्थानमा फेला परेको थियो । शरीर भेटिएको ठाउँ भन्दा करिव ६० मिटर पूर्व टाउको भेटिएको थियो ।

मृतक र आरोपी दुबै लागूऔषध प्रयोगकर्ता भएको सर्लाहीका प्रहरी प्रमुख सन्तोषसिंह राठौरले बताए । बुधवार साँझ समेत उनीहरुले सँगै बसेर लागूऔषध सेवन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार कमल र मृतकबीच आर्थिक लेनदेन थियो । साथै रायले आफ्ना छोरीहरुलाई गलत नजरसमेत लगाएकाले हत्या गरेको बयान कमलले प्रहरीलाई दिएका छन् ।

मृतकको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top