ताजा समाचार


करारमा खटिएका स्वास्थ्यकर्मीद्वारा मुख्यमन्त्री कार्यालय अगाडी चक्काजाम

द रियल समाचार     २०७७ चैत्र १२, बिहीबार, १६: १४ मा प्रकाशित




जनकपुरधाम । कोरोना महामारीका बेला जनकपुरधामस्थित कोरोना विशेष अस्पताल र जिल्ला अस्पतालहरुमा करारमा खटिएका स्वास्थ्यकर्मीहरुले तलब भत्ता नपाएको भन्दै आन्दोलनमा उत्रेका छन् ।

कोरोना संक्रमितको उपचारमा खटेका करार सेवाका कर्मचारीहरुले तलब भत्ताको माग गर्दै आज प्रदेश २ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडी दुई घण्टा चक्काजाम गरेका छन् ।

संक्रमितको उपचारमा गत जेठ महिनादेखि नै काम गर्दै आएका चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मीलगायतका कर्मचारीहरुलाई अहिलेसम्म तलब भत्ता दिइएको छैन । विगत ४ महिनाको तलब र भत्ता यथाशीघ्र उपलब्ध गराउनु पर्ने माग गर्दै आफूहरुले बाध्यताबस चक्काजाम गरेको आन्दोलनरत ल्याब असिसटेन्ट सुशील यादवले बताए ।

तलब भत्ता भुक्तानी नै नगरि आफूहरुलाई पुष ५ गतेदेखि काममा आउन रोक लगाइएको र बक्यौता रकम माग्दा कुनै सुनुवाई नगरिएकोले आन्दोलनमा उत्रिनु परेको उनीहरुले बताएका छन् । उनीहरुले आफूहरुको विगतको तलब भुक्तानी गर, जोखिम भत्ता उपलब्ध गर, दरबन्दी सिर्जना गर, आफूहरुको जागिर सुनिश्चित गरलगायतका ४ बुँदे मागसहित आन्दोलित भएका छन् ।

बारहबिघा मैदानबाट सुरु गरिएको बिरोध प्रदर्शन मुख्यमन्त्री तथा मन्त्रि परिषद् कार्यालयको गेटसम्म पुगेको थियो । तलब भत्ताको माग गर्दै स्वास्थ्यकर्मीहरुको समूहले तिनपटक मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

कोरोना विशेष अस्पतालमा खटेका चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मीसहित करिव ४ सय जना करार सेवाका कर्मचारीहरु आन्दोलित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top