काठमाण्डौ । म्याद सकिन लागेको भएपनि राहदानी तत्काल नवीकरण नगर्नका लागि राहदानी विभागले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । तत्कालका लागि ७७ वटै जिल्लाबाट नवीकरण रोक्नका लागि परिपत्र गरेको हो ।
विदेश जाने जरुरी वा अत्यावश्यक काम नभएपनि म्याद सकिन लागेको राहदानीको नवीकरणका लागि सेवाग्राहीले जिल्ला प्रशासन र राहदानी विभागमा बढी आवेदन दिएकाले विभागले नवीकरण रोक्न परिपत्र गरेको हो ।
निकट भविष्यमा गुणस्तरीय, सुरक्षित र भरपर्दो विद्युतीय राहदानी ‘ई पासपोर्ट’ जारी हुन लागेको भन्दै विभागले परिपत्र गरेको हो । त्यसैले अत्यावश्यक भएको अवस्था बाहेक राहदानी बनाएर घरमा राख्नका लागि मात्र अहिलेको मेशिन रिडेबल राहदानी (एमआरपी) बनाउन जरुरी नभएको विभागले जनाएको छ ।
राहदानी नवीकरणका लागि ढिला भएको अवस्थामा पनि जरिवाना लाग्ने अवस्था नभएकाले हतार नगर्नका लागि आम सेवाग्राहीलाई विभागले अनुरोध गरेको छ ।
आवश्यक परेको अवस्थामा जुनसुकै समयमा बनाउन सकिने भएकाले आवश्यक नभए नयाँ बनाउन तथा नवीकरणका लागि आवेदन नदिन पनि विभागले अपिल गरेको छ ।
राहदानी नवीकरणका लागि म्याद नाघेपनि जरिवाना नलाग्ने भएकाले आवश्यक नभएको अवस्थामा आवेदन नदिनका लागि जिल्ला प्रशासन कार्यालयमार्फत विभागले अनुरोध गरेको छ ।
ई पासपोर्ट जारी गर्ने प्रक्रियाका कारण अहिले एमआरपी पासपोर्टका लागि आवश्यक बाहेकका आवेदन नलिन पनि विभागले भनेको छ ।
प्रतिक्रिया