ताजा समाचार


भारतमा कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिदैँ

द रियल समाचार     २०७७ चैत्र ११, बुधबार, १४: ५७ मा प्रकाशित




एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिन थालेको छ । महाराष्ट्र राज्यलाई कोरोनाले फेरि सबैभन्दा धेरै प्रभावित बनाएको छ ।

महाराष्ट्रका बीड र नान्ददेड सहरमा सरकारले कडा लकडाउन गरेको छ । यो लकडाउन दुवै शहरमा २६ मार्चदेखि ४ अप्रिलसम्म जारी रहने बताइएको छ । यसक्रममा शहरमा पार्टी प्यालेस, होटल र रेस्टुरेन्ट पनि बन्द हुनेछन् । स्कुल र कलेज पनि तत्काल खुल्ने छैनन् । यसका अलावा सबै निजी कार्यालय बन्द हुनेछन् । कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ ।

मध्य प्रदेशका गृह मन्त्री नरोत्तम मिश्राले प्रदेशका २/३ शहरमा हरेक आइतवार लकडाउनबारे छलफल भइरहेको बताए । ‘भोपाल र इन्दौरमा हरेक दिन ३ सयदेखि ४ सय नयाँ केस भेटिएका छन् । यदि यो संख्या बढ्दै गएमा हामी पुरानै अवस्थामा पुग्नेछौँ । म मानिसहरुलाई कोरोना नियम पालना गर्न आग्रह गर्छु ।’

यता दिल्ली सरकारले सबै विमानस्थल , रेल स्टेशन, अन्तरराज्यीय बस टर्मिनलमा अन्य राज्यबाट आउने यात्रीको नियमित चेकजाँच अनिवार्य बनाएको छ । दिल्लीका सार्वजनिक स्थानमा होली, मलामी र जन्ती जान तथा नवरात्री मनाउन पनि प्रतिबन्ध गरिएको छ । उत्तर प्रदेशमा होली अगाडि सरकारले कडा नियम जारी गरेको छ । त्यहाँ बिना अनुमति कसैले जुलुस निकाल्न पाउने छैनन् । ६० वर्षमाथि र १० वर्ष तलका बालबालिकालाई कुनै पनि उत्सव र भेलामा जान निषेध गरिएको छ ।

भारतमा बितेको २४ घण्टामा ४७ हजार २३९ जना नयाँ संक्रमित भेटिएका छन् । यही अवधिमा २३ हजार ९ सय १३ जना निको भएका छन् । भारतमा एकै दिन २७७ जना संक्रमितले ज्यान गुमाएका छन् । भारतमा लगातार पाँचौँ दिन ४० हजार भन्दा धेरै नया संक्रमित थपिएका हुन् । मृतकको संख्या पनि यस वर्षको सबैभन्दा धेरै हो । यसैबीच केन्द्र सरकारले अन्तरराष्ट्रिय उडानमा लगाइएको रोक ३० अप्रिलसम्म बढाएको छ ।

भारतमा अहिलेसम्म एक करोड १७ लाख ३३ हजार ५९४ मानिस संक्रमित भइसकेका छन् । यिनमा १ करोड १२ लाख ३ हजार १६ जना निको भएका छन् । अहिलेसम्म भारतमा १ लाख ६० हजारले ज्यान गुमाइसकेका छन् । अहिले पनि ३ लाख ६५ हजार उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top