सुमित मिश्र, जनकपुरधाम । प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा. राजेश झा (अहिराज) खेतखेतमा पुगेर किसानलाई सम्मान गर्ने अभियान थालेका छन् ।
केहि दिनअघि प्रदेश २ सरकारले पदक वितरण सम्बन्धी ऐनमा प्रदेश २ को मुख्य पेशा कृषि रहेको उल्लेख गरेतापनि किसानलाई सम्मान गर्ने कुरा समावेश नगरेकोे भन्दै प्रदेश प्रमुख झा किसानलाई पनि पदक दिने सूचिमा राख्न सुझाव दिएका थिए । सोहि कारण प्रदेश प्रमुख झाले उक्त विधेक प्रमाणिकरण नगरी फिर्ता गरेका थिए ।
त्यस यता उनले स्वयम् खेतखेतमा पुगेर किसानलाइ सम्मान गर्ने अभियान सुरु गरेका हुन् । किसानको कर्मको उच्च सम्मान गर्दै खेतमा नै पुगेर सम्मान गर्न थालेको उनले बताए । यसै क्रममा उनले सिरहाको गोलबजार नगरपालिका वडा नंं २ को गुरुधाम गाउँमा व्यवसायिक रुपमा तरकारी खेती कार्यमा संलग्न रहेका एक दर्जन भन्दा बढी किसानलाई गम्छा तथा खादा ओढाएर सम्मान गरेका हुन् ।
गुरुधाम गाउँका करिब दुई सय घरका किसानले व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । करिब २० वर्ष देखि सो वडामा व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएको र उत्पादित तरकारीलाई पहाडी जिल्लाका साथै सिरहा, सप्तरी, उदयपुर तथा भारतको जयनगरसम्म किसानहरूले बिक्री गर्दै आएका छन् ।
उक्त गाउँमा करिब ४ सय विघा क्षेत्रफलमा व्यावसायिक रुपमा तरकारी खेती हुने गरेको स्थानिय अर्जुन थपलियाले जानकारी दिए । उक्त ठाउँमा प्रदेश प्रमुख पुग्दा किसानहरूले आफूहरूलाई सिचाइको आवश्यकता भएको र राम्रो सिचाइको व्यवस्था गरिदिन प्रदेश प्रमुखसँग आग्रह समेत गरेका छन् ।
प्रदेश २ कृषि उत्पादनको दृष्टिकोणले देशमै अग्रणी रहेकाले प्रदेश प्रमुख झा खेतमै पुगेर कृषि कर्मलाई प्रोत्साहन गर्दै किसानको हौसला बढाउने काम गरिरहेका छन् ।
प्रतिक्रिया