काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको छ । यसअघि उक्त बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको थियो ।
बिहान साढे ९ बजेदेखि सुरु भएको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता, सांगठनिक काम, एमालेमा गएका नेतामाथि कारबाही, पछिल्लो विकसित राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुने बताइएको छ ।
माओवादी केन्द्रले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । माओवादीले गत फागुन २९ मा बसेको स्थायी कमिटी बैठकले पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
साथै नेकपा एमालेको केपी ओली पक्षले फागुन २८ मा विस्तार गरेको केन्द्रीय कमिटीमा रहेका माओवादी तर्फका नेताहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र पठाउने निर्णय पनि गरेको थियो ।
तर, सरकारमा रहेका मन्त्रीहरुले कुनै जवाफ नदिएको र एमालेमै बस्ने निर्णय लिएपछि उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाउने तयारी पनि माओवादीले गरेको छ ।
प्रतिक्रिया