ताजा समाचार


माधव नेपालसहित चार नेताले एमालेले सोधेको स्पष्टिकरण नदिने

द रियल समाचार     २०७७ चैत्र ९, सोमबार, १८: ३१ मा प्रकाशित




काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताले एमालेले सोधेको स्पष्टिकरण नदिने संकेत गरेका छन् ।

केपी ओलीको अध्यक्षतामा गत शनिबार बसेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

तर, स्पष्टीकरणमा परेका नेताहरुले प्रधानमन्त्री एवं अध्यक्ष ओलीप्रति संकेत गर्दै स्पष्टीकरण सोध्नेहरु नै प्रश्नको घेरामा रहेको भन्दै जवाफ नदिने बताउँदै आएका छन् । नेता योगेश भट्टराईले प्रश्न सोध्नेहरु नै स्वयं लाखौँ प्रश्नको घेरामा रहेको बताउँदै उनीहरुले सोधेको स्पष्टीकरणको जवाफ दिइरहनुको औचित्य नरहेको बताएका छन् ।

यसअघि नेता घनश्याम भुसालले ओली स्पष्टीकरणमा मात्रै नरोकिने भन्दै कारबाहीका लागि आफूहरु तयारी अवस्थामा रहेको बताएका थिए । नेता भीम रावलले एकलौटी रुपमा राखेका बैठक अवैधानिक रहेको भन्दै स्पष्टीकरण नदिने जवाफ दिएका छन् ।

प्रधानमन्त्री ओलीले विधि र विधानविपरीतका कार्य गरेकाले उनीमाथि कारबाही गर्नुपर्ने नेता रावलले बताएका छन् । शनिबारको बैठकको निर्णयअनुसार चार नेतालाई तीन दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण दिन भनिएको छ । महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्रमा चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने पनि उल्लेख गरिएको छ ।

–फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top